लोककवि मियाँलाई हेमराज पुरस्कार

कास्की । नेपाली लोकसाहित्य, लोकगीत तथा संस्कृतिमा महत्वपूर्ण योगदान दिएको भन्दै लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

साहित्यकार पहारीको नवौं स्मृति दिवसको सन्दर्भ पारेर १७ फागुनमा आयोजना हुने कार्यक्रममा लोककवि अलि मियाँलाई मरणोपरान्त सम्मानित गरिन लागिएको हो । नेपालको मौलिक लोकसंस्कृतिलाई जगेर्ना गर्न महत्वपूर्ण योगदान दिएका लोककवि मियाँलाई पुरस्कृत गरिएको प्रतिष्ठानकी अध्यक्ष रिता न्यौपाने पहारीले बताइन् ।

साहित्यकार अनिल पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले मियाँलाई पुरस्कारका लागि सिफारिस गरेको हो । यो पुरस्कारबाट यसअघि संस्कृतिविद् तथा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरानलाई प्रदान गरिसकिएको प्रतिष्ठानले जनाएको छ । मियाँको जन्म १९७५ फागुन १५ गते हाल पोखरा १३ को मियाँपाटनमा भएको थियो । उनको २०६३ साउन १८ गते निधन भएको थियो ।

प्रतिक्रिया