किम र ट्रम्प भेट यसै महिना

वासिंगटन । अमेरिकी कंग्रेसको संयुक्त बैठकसमक्ष गरिने वार्षिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध र मेक्सिको सिमानामा पर्खालको विषय छुटाएनन् ।

‘उच्चता को छनोट’ नाम दिइएको उक्त सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले राष्ट्रिय एकताका निम्ति आह्वान समेत गरे । उनले उठाएका चार महत्वपूर्ण विषय विस्तारमा ः

उत्तर कोरियाली नेता किम जङ्–अनसँग फेब्रुअरी २७–२८ मा भियतनाममा भेटवार्ता गर्ने ट्रम्पले घोषणा गरेका छन् । गत वर्ष दुई नेताबीच भएको ऐतिहासिक शिखरवार्ता यता दुवै देशले दोस्रो वार्ताको तयारी थालेका थिए ।

मंगलवार राति सम्बोधन गर्दै ट्रम्पले भने ‘हाम्रा बन्दीहरू घर फर्किएका छन् । परमाणु परीक्षण रोकिएका छन् । गएको पन्ध्र महिनामा एउटा पनि क्षेप्यास्त्र प्रहार भएको छैन ।’

‘यदि म अमेरिकाको राष्ट्रपति निर्वाचित नभएको भए, मेरो विचारमा, अहिले हामी उत्तर कोरियासँग ठूलो युद्धमा हुने थियौँ । धेरै काम गर्न बाँकी छ तर किम जङ्–अनसँगको मेरो सम्बन्ध राम्रो छ ।’

दुई वर्षदेखिको विपक्षीसँगको विषाक्त सम्बन्धका माझ राष्ट्रपति ट्रम्पले मंगलबार राजनीतिक एकताका निम्ति आग्रह गरे । ‘हामी मिलेर दशकौँदेखि विद्यमान राजनीतिक गतिरोध तोड्न सक्छौ ँ। हामी पुराना विभाजन मेटाउन, पुराना घाउ पुर्न र नयाँ गठबन्धन निर्माण गर्न सक्छौँ,’ उनले भने ।

उनले पूर्वाधार सुधार, औषधिको मूल्य घटाउने तथा बालबालिकामा हुने क्यान्सरविरुद्ध लड्ने जस्ता विषयमा दुवै पक्षको मिलनविन्दु भेटिने उल्लेख गरे।

“अमेरिकामा अहिले आर्थिक चमत्कार भइरहेको छ । यसलाई केवल मूर्ख्याईँपूर्ण युद्ध, राजनीति वा हाँसउठ्दा राजनीतिक पूर्वाग्रहपूर्ण छानबिनले रोक्न सक्छन् ।’ डेमोक्र्याटिक दलका नेताहरूले प्रतिनिधिसभामा बहुमत पाएदेखि ट्रम्प प्रशासनमाथि शृंखलाबद्ध छानबिनको योजना बनाएका छन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावताका रुससँग साँठगाँठको आरोपबारे विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले छानबिन गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले तालिबानसँग अफगानिस्तान युद्ध रोक्ने बारे उनको प्रशासनले ‘रचनात्मक कुराकानी’ गरिरहेको बताए ।

‘शान्तिका निम्ति कम्तीमा प्रयास गर्ने समय आएको छ ।’ राष्ट्रपतिले भने, कुनै समय इस्लामिक स्टेट समूहले कब्जामा लिएको सिरिया र इराकको लगभग सबै भूभागलाई ‘ती रक्तपिपासु दैत्य’ बाट मुक्त पारिएको छ ।

‘सिरियामा रहेका हाम्रा साहसी योद्धालाई अब घरमा न्यानो स्वागत गर्ने बेला आएको छ,’ उनले भने । मध्यपूर्वमा झण्डै दुई दशकयता भएका युद्धहरूमा अमेरिकाले सात हजार सैनिक गुमाएको तथा ७ ट्रिलियन डलरको नोक्सानी बेहोरेको उनले बताए । ‘महान देशहरूले अन्तहीन युद्ध लड्दैनन ।’

छिमेकी मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने कुरा राष्ट्रपतिले पुनः दोहो¥याए । अवैध आप्रवासीको समस्यालाई उनले राष्ट्रिय संकट भने । तर कंग्रेसले पैसा नदिएपनि पर्खाल बनाउन अनुमति मिल्ने गरि तत्काल सिमानामा आपतकालीन स्थिति घोषणा गर्नेबारे भने उनले केही बोलेनन् ।

यही विषयलाई लिएर अर्को साता फेरि सरकारी खर्चबन्दीको स्थिति आइपर्न लागेको बेला राष्ट्रपतिसमक्ष पर्खाल बनाउन लाग्ने कोष जम्मा गर्न अब थोरै विकल्पमात्र बाँकी छन् । अवैध आप्रवासीका कारण काम गर्ने अमेरिकीहरूलाई धेरै अप्ठेरो परेको उनले बताए ।

प्रतिक्रिया