अब ट्विटरमा ‘इडिट’ गर्न मिल्ने

वासिंगटन । ट्विटेहरूका लागि ट्विटर प्रयोग गरिरहँदा सधै खट्किरहने एउटा विषय हो आफूले गरेको ट्विट सच्याउन नसकिनु । आफूले गरेको ट्विटमा अक्षरहरू वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई सम्पादन गरेर सच्याउने विकल्प हुँदैन । कि त भएको गल्तीको प्रष्टीकरणमा अर्को ट्विट गर्ने वा गल्ती भएको ट्विटलाई डिलिट गर्ने ।

तर अबचाहिँ ट्विटरमा पनि फेसबुकमा झैँ आफूले गरेको पोष्ट इडिट गर्ने फिचर आउने भएको छ । योसँगै अब ट्विटर प्रयोगकर्ताले आफ्नो ट्विटमा भएको गल्ती सुधार्ने मौका पाउनेछन् ।

ट्विटरले यस्तो फिचर निकट भविष्यमै ल्याउनेछ । तर फेसबुकमा गरिने जस्तो इडिट ट्विटरमा हुनेछैन । किनकि कुनै पनि ट्विटलाई सम्पादन गरेर पब्लिस गरिसकेपछि पनि त्यो ट्विटको ओरिजिनल भर्सनसमेत हेर्न सकिनेछ । अर्थात् खासमा सुरुमा उक्त ट्विटमा के थियो र पछि के सम्पादन गरिएको हो ? भन्ने कुरा पनि थाहा पाउन सकिनेछ ।

नाइन टू फाइभ म्याक नामक वेबसाइटले ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीको अन्तरवार्ता उद्धृत गर्दै यस्तो दाबी गरेको छ । उसका अनुसार ट्विटरले ट्विट सेन्ड गर्दा ५ देखि ३० सेकेण्डसम्मको अवधि दिने फिचर ल्याउनेछ । सोही विन्डोमा प्रयोगकर्ताले उक्त ट्विटलाई इडिट गर्न सक्नेछन् ।

ट्विटरले अहिलेसम्म पनि ट्विट इडिट गर्न सकिने फिचर किन नल्याएको भन्ने प्रश्नमा डोर्सीले भनेका छन्, ‘ट्विटरको प्लाटफर्म टेक्स्ट मेसेजिंग एपको एसएमएस फम्र्याटमा बनेको छ । जब तपाईं टेक्स्ट मेसेज गर्नुहुन्छ, तब तपाईंले त्यसलाई फिर्ता लिने भन्ने कुरा हुँदैन । त्यसैगरी जब तपाईं ट्विट गर्नुहुन्छ, तब यो तुरुन्तै दुनियामा फैलिन्छ । अनि तपाईंले त्यसलाई फिर्ता लिन सक्नुहुन्न ।’

ट्विटर प्रयोगकर्ताको सुझावको आधारमा डोर्सीले ट्विट संशोधन गर्ने फिचरका बारेमा पहिलोपटक सन् २०१६ मा चर्चा गरेका थिए । उनले ट्विटरमा कुन चिजमा सुधार होस् वा के नयाँ कुरा थपियोस् भन्ने चाहनुहुन्छ ? भनेर प्रयोगकर्तालाई प्रश्न सोधेका थिए । त्यसको जवाफमा लाखौं ट्विटर प्रयोगकर्ताले ट्विट इडिट गर्ने फिचर थप गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया