साल्भाडोरको राष्ट्रपतिमा नयिब बुकेले

सान साल्भाडोर । सान साल्भाडोरका पूर्व मेयर नयिब बुकेले एल साल्भाडोरको राष्ट्रपतिमा विजयी भएका छन् । विगत तीन दशकदेखि सत्तामा रहेका दुई ठूला पार्टीलाई पछि पार्दै बुकेले नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

एल साल्भाडोरको निर्वाचन आयोगले सार्वजनिक गरेको करिब ८८ प्रतिशत मतगणनामा बुकेलेले करिब ५४ प्रतिशत मत प्राप्त गरिसकेका छन् । यो नतिजा ५० प्रतिशतभन्दा बढी भएकाले बुकेले नै विजयी हुने भएका हुन् ।

दोस्रो स्थानमा रहेका क्यालीजाले करिब ३२ प्रतिशत र तेस्रो स्थानमा रहेका मार्टिनेजले करिब १४ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ । चुनावमा करिब ५२ लाखले मतदान गरेका थिए ।

राष्ट्रिय एकताका लागि बृहद गठबन्धन (गाना) बाट प्रतिनिधित्व गर्नुहुने ३७ वर्षीय नयिब बुकेलेले सान साल्भाडोरमा विजयी समारोहबीच आफ्ना समर्थकलाई धन्यवाद व्यक्त गरेका छन् । राजधानीको प्लाजा मोराजनमा भेला भएका उनका हजारौं समर्थकले बुकेलेको समर्थनमा नारा जुलुस र राष्ट्रिय झण्डा फहराएका थिए ।

मध्य अमेरिकी राष्ट्र एल साल्भाडोर विगत लामो समयदेखि भ्रष्टाचार र कुशासनका कारण आर्थिक रूपमा कमजोर स्थितिमा पुगेको छ । आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रपति बुकेलेले भने, ‘यो विजय साल्भाडोरियाली जनताको हो, आज हामीले पहिलो चरणको निर्वाचन जितेका छौं र हामीले इतिहास निर्माण गर्न सक्षम भएका छौं ।’ पहिलो चरणको निर्वाचनमा विजयी भएपनि उनले दोस्रो चरणको निर्वाचन पनि सामना गर्नुपर्ने सम्भावना रहेको बताइन्छ ।

बुकेलेले शिक्षामा लगानी वृद्धि गर्ने तथा भ्रष्टाचार विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरे । तर उनीमाथि मुलुकको खस्कदो शान्ति सुरक्षामा सुधार ल्याउनु सबैभन्दा ठूलो चुनौती हुनेछ ।

बुकेलेका विपक्षीहरू कार्लोस क्यालीजा र ह्युगो मार्टिनेज दुबैले चुनावी हार स्वीकार गरेका छन् । झण्डै तीन दशकसम्म दुई नेताले नेतृत्व गरेका दलहरूले एकछत्र शासन सञ्चालन गरेका थिए ।

यसैबीच, अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का महासचिव लुइस अल्माग्रोले एक वक्तव्य प्रकाशन गरी ऐतिहासिक सफलताका लागि बुकेलेलाई बधाई दिएका छन् ।

प्रतिक्रिया