टिच फर नेपाल र जनता बैंकबीच संझौता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपाल बिच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धी आज एक संझौता सम्पन्न भएको छ । संझौता पत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरे । टिच फर नेपालले ग्रामण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरू खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११० जना फेलो (विद्यार्थी) शिक्षकहरूमार्फत करिब १० हजार विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा कार्य गरिरहेको छ ।

सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक रु. ५ लाख प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरूमा महत्वपूर्ण विषयका दक्ष जनशक्तीलाई शिक्षकको रूपमा खटाउने छ, यसरी खटाइएका फेलो शिक्षकहरू शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यमा सरिक हुनेछन् । बैंकले यस सहयोगबाट ग्रामिण क्षेत्रका विद्यालय र सहरी क्षेत्रका विद्यालयको बिचमा हुने शैक्षिक असमानता कम गर्न महत्वपूर्ण सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छ ।

प्रतिक्रिया