मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

क्वालालम्पुर । मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् ।

यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनोट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् । खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोसाक लगाएका थिए । क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले सपथ ग्रहण गरेका थिए ।

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजाराँै अतिथिहरू, मुस्लिम धर्मगुरुहरू लगायतको उल्लेख्य सहभागिता थियो भने टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । शपथ ग्रहण अगाडि ५९ वर्षीय नयाँ राजा अब्दुल्लाहलाई राष्ट्रिय संसद्मा स्वागत गरिएको थियो भने सम्मान गारत पनि दिइएको थियो ।

मलेसियाको राजसभाद्वारा केही दिन अगाडि संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा भएका हुन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले यही जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको हो ।

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावधि नसकिँदै राजीनामा दिने मुहम्मद पहिलो राजा हुन् । उनले राजीनामा दिनुको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन, तर रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उहाँले राजीनामा दिएको बताइएको छ ।

राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय १५औं राजा सुल्तानले केही सातादेखि बिदा लिनु भएको थियो । उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हाल्नु भएको थियो । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन् ।

नयाँ राजा अब्दुल्लाह खेलकुद क्षेत्रमा अत्यधिक सक्रिय व्यक्ति हुन् । उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि थिए । साथै उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेबारी पनि सम्हालेका छन् ।

उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रूपमा घोषणा गरिएको अधिकारीहरूले बताएका छन् । यसअघि पनि कार्यवाहक राजाको जिम्मेवारी सम्हाल्नुभएका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रुपमा फेरि पनि पाँच वर्षका लागि निरन्तरता दिइएको हो ।

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुने व्यवस्था छैन । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ ।

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसंख्यक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन् ।

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ ।

मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यमा गर्भनर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रिय प्रणालीमार्फत् पाँच पाँच वर्षका लागि राजा छान्ने परम्परा रहेको छ ।

प्रायः पालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको भएकाले त्यहीँका सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह राजा हुनु भएको हो ।

प्रतिक्रिया