दार्चुलाबाट ‘लक्ष्मी रानी’को छायांकन

काठमाडौं । ग्रामीण र सहरी क्षेत्रका महिलाले भोगेका सामाजिक तथा धार्मिक विषयमा केन्द्रित रही बनाउन लागिएको चलचित्र ‘लक्ष्मी रानी’ को छायांकन यतिबेला सुदूरपश्चिमको दार्चुलाबाट सुरु गरिएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति यो चलचित्रको छायांकन गर्न कलाकारको टोली नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा पुगेको हो ।

‘यतिबेला यहाँ हिउँ परिरहेको छ, हामीले यहाँको परिवेशअनुसार सुटिङ गरिरहेका छौँ, चलचित्रकी निर्देशक शुभेच्छा थापाले भनिन्, ‘दश दिन दार्चुलाको ग्रामीण क्षेत्रमा सुटिङ हुनेछ ।’ यो चलचित्रमा गाउँको अवस्था र सहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाइ दार्चुला भएको उनले जानकारी गराइन् । सिमानामा सुटिङ चलिरहेको छ, पारि भारतपट्टि धार्चुला छ, वारि चिसो मौसमले हिउँ परेको भए पनि सुटिङमा कुनै व्यवधान नभएको थापाले जानकारी दिइन् ।

‘लक्ष्मी रानी’ विशुद्ध सामाजिक कथामा आधारित चलचित्र भएको निर्माण पक्षले जनाएको छ । ग्रामीण र सहरी क्षेत्रका महिलाले भोगेका अलग–अलग संघर्षका कथा, धर्म र संस्कृतिलाई चलचित्रमा समेट्ने थापाले बताइन् । चलचित्रमा शुभेच्छासहित धीरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहनेछ ।

अभिनेत्री तथा निर्मात्रीको परिचय बनाएकी शुभेच्छाले यसै चलचित्रबाट पहिलोपटक निर्देशनमा डेब्यु गर्दे छिन् । ‘आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भूमिकामा सफल हुने विश्वास लिएकी छु,’ उनले भनिन् । ‘लक्ष्मी रानी’ आगामी तिहारमा प्रदर्शनमा आउने तयारीका साथ काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया