‘केसीका माग सबैका लागि’

काठमाडौं । पूर्व–प्रधानन्यायधीश सुशीला कार्कीले डा. गोविन्द केसीका माग पूरा गर्दा कसैलाई पनि हार नहुने बताएकी छन् । बुधबार त्रिवि शिक्षण अस्पतालको अनशनस्थलमा रहेका डा. केसीलाई भेटेर उनले माग पूरा हुने आश्वासन दिएकी हुन् ।

माग पूरा गर्दा कसैको हार नहुने भन्दै त्यसतर्फ ध्यान दिन सरकार र सांसदलाई आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘उनीहरू पनि निर्वाचित भएर आएका हुन् । डा. केसीले उठाएका मुद्दा पनि बुझेकै छन् जस्तो लाग्छ । उहाँको सत्याग्रह न आफ्ना लागि हो न कुनै पार्टीका लागि हो ।

उहाँ त देशका लागि अनशन बस्नुभएको हो । तीन करोड नेपालीका लागि त्यसैले उहाँको माग राज्यले पूरा गर्नुपर्छ ।’ उनले थपिन्, ‘म सरकारसँग अनुरोध गर्छु यो माग पूरा गर्दिऊँ । उहाँहरूको जितै जनताले महसुस गर्नेछन् ।’

पछिल्लो समय मेडिकल शिक्षामा देखिएको सुधार डा. केसीकै लडाईको उपज भएको उनले सुनाइन् । मंगलबार मात्रै पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले डा. केसीलाई भेटेका थिए ।

२२ दिनदेखि डा. केसीे अनशनरत छन् । उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको चिकित्सकहरूले बताएका छन् । यता सरकार डा. केसीको माग पूरा भईसकेको र अब अनशन आवश्यक नभएको बताउँदै आएको छ ।

प्रतिक्रिया