सकियो ‘सङ्गालो’

काठमाडौं । नेपाली समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषय उठान गरिएका कलाकृतिको पाँच दिने प्रदर्शनी समापन भएको छ । ललितकला विषयमा केन्द्रीय विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गरेका १० विद्यार्थीले बनाएका चित्रको प्रदर्शनीमा राखिएको थियो । ‘सङ्गालो’ शीर्षकमा गरिएको कला प्रदर्शनीमा सुरक्षा वाग्ले, निशा महर्जन, हरिओम मेहता, सन्तोष राई, रामचन्द्र महर्जन, सुरेश बस्नेत, टिवी थापा, सुरजजान सुवेदी, कुमार दोर्जे लामा र राष्ट्र कार्की सहभागी थिए ।

कोठीमा बेचिएका चेलीको कारुणिक कथालाई कलाकार सुरजजान सुवेदीलाई चित्र तथा पर्फमेन्स कलामार्फत प्रस्तुत गरेका थिए । उनी केही वर्षअघि कोठीमा बेचिएका चेलीकोे अवस्था बुभ्mन ग्राहक बनेर लखनउ पुगे ।  त्यहाँ रहेका नेपाली चेलीसँग कुराकानी गरेपछि तिनका बारेमा सकेजतिका स्केच बनाए । सुवेदीले भने, ‘कोठीमा यस्तो कारुणिक चित्कार थियो, त्यही चित्कार मेरा चित्रमा झल्किरहेको छ, तपाईंले हेर्दा नै महसुस गर्न सक्नुहुन्छ ।’


प्रदर्शनी अर्का कलाकार टिबी थापामगर ‘आक्रोश’ले समकालीन नेपाली समाजको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई प्रतिस्थापन तथा चित्रमार्फत कलात्मक रूपमा प्रस्तुत गरेका थिए । उनले विश्वमा बढ्दै गएको तापक्रम र त्यसले पारेको प्रभावलाई प्रतिस्थापन कला निकै सशक्त रहेको थियो । थापा मगरले सप्तरङको ‘प्रतिस्थापन’ कलामा पृथ्वीलाई आमाको रूपमा चित्रण गरेर विश्वका प्राय देशका कारण प्रकृतिमा परेको प्रभावलाई देखाएका थिए ।

ट्राफिक सचेतनाका दृश्य, सडक बालबालिकाको अवस्था, रहरको सहर तथा संस्कार संस्कृति र मौलिक पेसालगायत विभिन्न विषयका कलाकृतिले विश्व र नेपाली समाजको परिवेशको ऐनालाई दर्शकमाझ ल्याएको थियो ।  त्यस्तै, कलाकार सन्तोष राईले किरात सभ्यता झल्किने कलाकृति प्रदर्शनीमा राखेका थिए । कलाकार रामचन्द्र महर्जनले अव्यवस्थित सहरको कहरलाई चित्रमा उधिनेका थिए । उनले विकृतियुक्त वर्तमान सहरका विविध पक्षलाई क्यानभासमा उतारेका छन् । उनले भने, ‘संस्कृति हराउँदै गयो, सहर कुरूप बने, यसमा ध्यान दिऔं भन्ने लक्ष्य राखेर कलाकृति रचना गरेको हुँ ।’

त्यस्तै, सुरेश बस्नेतले ट्राफिक सचेतना झल्किने चित्र प्रदर्शनीमा राखेका थिए । कलाकार राष्ट्र कार्कीले ठमेलदेखि वसन्तपुरसम्मका सडक बालबालिकाको वास्तविकता झल्कने कथालाई चित्रमार्फत प्रस्तुत गरेका थिए । कलाकार निशा महर्जनले बनाएका मातृत्व भाव झल्किने कला प्रदर्शनीमा राखेकी थिइन् । कलाकार सुरक्षा वाग्लेले साथ र हातको विषयलाई निकै मार्मिक रूपमा प्रस्तुत गरेकी थिइन् । हरिओम मेहताले मधेस र त्यहाँको वास्तविक चित्रलाई क्यानभासमा उधिनेका थिए । कुमार दोर्जे लामाले बुद्धको सन्देशलाई समकालीन सन्दर्भसँग जोडेर बनाएका चित्रले ग्यालरी कक्षलाई दर्शकको आकर्षणको केन्द्र बनाएको थियो ।

प्रदर्शनीको समापनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले युवालाई कलाप्रति आकर्षित गराउन प्रतिष्ठानले आवश्यक नीति अगाडि बढाउने बताए । कार्यक्रममा विश्लेषक युग पाठकले चित्रकलाको विषयमा आवश्यक खोज, अध्ययन र पुस्तक नभएकाले समाजमा कसरी जोड्ने भन्ने विषय अझै गौण रहेको बताए । उनले भने, ‘कलाले समाजमा सन्देश दिन सक्नुपर्ने र चित्रकारले पनि समाजमा प्रयोग हुने गरी चित्रको महत्वलाई बुझाउन जरुरी छ ।’

त्यस्तै, कलाकार तथा उपप्राध्यापक उमाशंकर साहले नेपाली कलाको विकास क्रमिक रूपमा हुँदै गएको र सरकारले कलासम्बन्धी नीति बनाउन जरुरी रहेको धारणा व्यक्त गरे । उनले कला शिक्षालाई देशव्यापी बनाउन सबै पक्षले काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया