आउँदा भरी फर्कदा रित्तै

बाबुराम बास्तोला, संखुवासभा । जिल्लामा दैनिकजसो ठूलो संख्या मालवाहाक सवारी साधन भित्रिने गरेका छन् । दैनिक उपभोग्य सामग्रीसँगै निर्माणका सामाग्री लिएर ठुलो संख्यामा मालवाहक सवारी साधान भित्रने गरेका हुन । तर, जिल्लाबाट निर्यात हुने केही समान नहुँदा मालवाहक सवारी साधन रित्तै फर्कन बाध्य भएका छन् । तराईका जिल्लाबाट पसललाई आवश्यक सामग्री तथा निर्माण सामग्री भित्रिरहँदा जिल्लामा निर्यातजन्य सामग्री नहुँदा मालवाहक सवारी साधन त्यसै फर्कन बाध्य भएका हुन् । उद्योग वाणिज्य संघ संखुवासभाका अनुसार जिल्लामा वार्षिक करिब २ अर्ब ५० करोडको हाराहारीमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसम्म आयात हुन्छ तर निर्यातको अवस्था भने नगण्य मात्रामा छ । निर्यातको अवस्था शून्यजस्तै हुदाँ जिल्ला भित्रिएका मालवाहक सवारी रित्तै फर्किन बाध्य छन् ।

जिल्लामा विभिन्न ठूला आयोजनाका लागि खाद्यान्नका साथै निर्माण समाग्रीहरू भित्रिने गरेका छन् । जिल्लामा निर्माणको अवस्थमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनालाई आवश्यक निर्माण सामाग्री ठूलो संख्यामा भित्रने गरेका छन् । सोहि आयोजनालाई आवश्यक पर्ने खाद्यान्नसमेत तराईका जिल्लाबाट आयात हुने गरेको छ । त्यस्तै जिल्लामा सञ्चालित साना तथा ठूला जलविद्युत् आयोजनाको लागि पनि ठूलो परिणाममा निर्माण सामाग्री भित्रने गरेका छन् । तर, जिल्लाबाट निर्यातजन्य सामान तथा वस्तु नहुदाँ जिल्लाबाट फर्कने मालवाहाक सवारीसाधन रित्तै फर्कनुपरेको छ । जिल्लामा कुनै पनि उद्योग तथा कलकारखाना नहुनुले पनि यो अवस्था आएको हो ।

हाल अरुण तेस्रो जलविद्युत् परियोजनाको लागि मात्रै भारतिय तथा नेपाली ट्रक तथा मालवाहक सावारी दैनिक १२ देखि १५ वटासम्म जिल्ला भित्रिरहेका छन् । तर तिनिहरू र्फकदा भने रित्तै फर्किरहेका हुन्छन् ।  तराईका जिल्लाबाट आएका मालवाहक सावारी साधन(ट्रक) केहिले भने काठ (लकडी) लगेर फर्कने गरेका छन् । जिल्लाबाट निर्यातको प्रशस्त सम्भावना भएर पनि कसैको ध्यान जान त्यस तर्फ जान सकेको छैन । अल्लो, अदुवा आदिलाई पनि यस जिल्लाको मुख्य आम्दानीको स्रोतका रूपमा लिइँदै आएको छ । तर, यि सामग्री जिल्लामा मात्रै खुम्चिएर बसेका छन् । जिल्लामा कृषिजन्य सामग्री निर्यातको सम्भावना भए पनि जिल्ला आफैले खाद्यान्नका सामाग्री आयात गर्नुपरेको दुखेको गर्छन् व्यापारी सुमन श्रेष्ठ । उनले भने ‘जिल्लामा भएका जमिन आधाजसो बाझो अवस्थामा छन्, कृषिजन्य वस्तुको उत्पादनमा बृद्धि गरेर निर्यात गर्न सक्ने सम्भावना छ, तर विडम्बना आफै खाद्यान्नमा परनिर्भर हुनुपरेको छ ।’ नेपाल अलैँची व्यवसायी संघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले वार्षिक करिब १ अर्वको हाराहारीमा अलैँची निर्यात हुने बताए ।

अलैँची र नगन्य मात्रामा चिराइतो बाहेक जिल्लाबाट उल्लेख्य मात्रामा कुनै पनि सामान निर्यात गर्न नसकिएको उद्योग बाणिज्य संघ संखुवासभाका अध्यक्ष युवराज शाक्यले बताए । ‘जिल्लामा धेरै निर्यातको सम्भावना हुदाँ पनि निर्यात गर्न नसकेर हामी ठगिनुपरेको छ,’ उनले भने, ‘जिल्लामा खाद्यान्न, लत्ता कपडा, निर्माण सामग्री, जुत्ता चप्पललगायत दैनिक उपभोग्य समाग्री अनुमानित वार्षिक दुई अर्व ५० करोडको हाराहारीमा आयात होला तर निर्यात भने शून्य जस्तै छ, त्यसैले पनि समाग्री बोकेर आएका ट्रक तथा मालवाहक सवारी रित्तै फर्काउन बाध्य छौं ।’

कतिपय क्षेत्रमा नीति नबनेका र बनेका नीति पनि कार्यान्वयन नहुने परिपाटीले र कृषकलाई निर्वाहमुखी कृषि प्रणालीबाट माथि उठाउन नसकेका कारण उत्पादनको सम्भावना भएका कतिपय कृषि उपजमा पनि आयात बढेको बढ्यै छ । जिल्लामा उत्पादन भइरहेका अल्लो, अदुवा, अलैँची लगायतका कृषि उपजको समेत निर्यातको प्रचुर सम्भावना हुदाँसमेत निर्यात गर्न कठिन परेको उद्योग वाणिज्य संघ संखुवासभाका प्रथम उपाध्यक्ष कृष्ण भगत प्रधानले दुखेसो गरे ।

यहाँ अलैँची, चिराइतो, कुड्की, जटामसी, पाखानवेद, सतुवा, लौठसल्ला, इन्द्रेणी, विखम्वा, टिमुर, अमला, हर्रो, बर्रो, सुन्तला, कागती, अमिलो, अदुवा, जस्ता थुपै्र जडिबुटीसमेत निर्यातको सम्भावना छ । तर, उपयुक्त नितिका कारण यस्ता जडिबुटीहरू संकलन तथा प्रशोधन गर्न सकिएको छैन । यस्ता सामग्री संकलन तथा प्रशोधन गरेर निर्यात गर्न सके यस क्षेत्रका नागरिकको आर्थिकस्तर माथि उक्सिनुका साथै यस क्षेत्रका धेरै मानिसले रोजगारी पाउने र विदेसिनुपर्ने बाध्यता हटी यहाँको आर्थिक अवस्थामा आमूल परिर्वतन आउनेछ । जिल्लामा नै रहेको पैसा हाल निर्यात भएर अन्य मुलुकमा जानुभन्दा यहाँको पैसा यहीँ सदुपयोग गर्नतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया