शाहको ‘शिक्षा र सिर्जना’ विमोचन

बाँके । शिक्षा विकास निर्देशनालय प्रदेश–५ का निर्देशक जीतबहादुर शाहको चौथो कृति ‘शिक्षा र सिर्जना’ सार्वजनिक गरिएको छ । प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शाहकै निवास कारकाँदोमा उक्त कृतिको विमोचन गरे । शिक्षा क्षेत्रमा सुधार ल्याउन राज्य तथा जनताको सहकार्य आवश्यक रहेको मन्त्री बरालले बताए । उनले भने, ‘शैक्षिक सुधारमा शाहको कृति शिक्षा र सिर्जना उपयोगी सावित हुनेछ ।’ उनले सही मार्गनिर्देशनको अभावमा शिक्षा क्षेत्रमा सुधार हुन नसकेको बताउँदै पुस्तकले शिक्षामा सुधार ल्याउन औषधीको काम गर्ने जिकिर गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार तथा पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले विद्यार्थी, अभिभावक, शिक्षकका लागि पुस्तक बहुउपयोगी सावित हुने बताए । उनले भने, ‘शिक्षाको सुधार तथा गुणस्तरीयता बढाउन पुस्तकले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरित गर्दछ ।’

कार्यक्रममा प्रदेश–५ का प्रदेश सांसद सुरेन्द्र हमाल, कर्णाली प्रदेशका प्रदेश सांसद ठम्मर विष्ट, शिक्षा क्षेत्रका उच्चपदस्थ कर्मचारी, जनप्रतिनिधि, सामाजिक क्षेत्रका अगुवा लगायतको सहभागिता थियो । शाहका यसअघि शैक्षिक ग्रन्थ, शिक्षा, सुनपानी र सपना, विद्यार्थी देव भवः कृति प्रकाशित भइसकेका छन् । उक्त पुस्तक विमोचनको व्यवस्थापन शर्मा साहित्य प्रतिष्ठानले गरेको थियो ।

प्रतिक्रिया