भेनेजुएला संकटः विश्व समुदाय विभाजित

कारकास । भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका वेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन गर्नेमा विभाजित भएको हो ।

मदुरोको पक्षमा

१. सेना – भेनेजुएलाको सरकारी सेनाले राष्ट्रपति मदुरोलाई नै समर्थन जनाएको छ । सरकारको मेरुदण्डको रूपमा रहेको सेनाले मदुरोकै पक्षमा आफूहरू रहेको बिहीबार प्रष्ट पारेको थियो ।

२. भेनेजुएलाको ३२ सदस्यीय मन्त्रिपरिषद्मा नौ जना सेनाबाट रहेका छन् । रक्षा, आन्तरिक मामिला (गृह), कृषि र गुप्तचर सेवालगायतका मन्त्रालयहरू सैन्य सेवाबाट आएकाहरूले सम्हाल्छन् । उनीहरूले टेलिभिजन स्टेसन, बैंक र सवारी साधनलगायतलाई नियन्त्रण गर्न सक्दछन् ।

३. चीन– भेनेजुएलाको मुख्य लगानीकर्ता तथा सहयोगदाता चीन हो । चीनले भेनेजुएलालाई करिब २० अर्ब अमेरिकी डलर सहयोग दिएको छ । अमेरिका र केही साझेदार देशहरूले गुएइदोलाई अन्तरिम नेताको रूपमा मान्यता दिए पनि चीनले भने बिहीबार हस्तक्षेपको संज्ञा दिएको छ । उसले ती देशहरूले हस्तक्षेप गर्न नहुने मत राखेको छ ।

४. रुस– भेनेजुएलाको दोस्रो ठूलो सहयोगदाता रुसले पनि भेनेजुएलालाई सैन्य सहयोग गरेको छ । गत डिसेम्बरमा दुई बमबर्षक र सय जना अधिकृतहरू काराकास पठाएको थियो । मदुरोलाई समर्थन गरेको सन्देश दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो सहयोग पठाउनु भएको हो ।

५. साना देशहरू– टर्की, क्युवा, बोलिभिया, उरुग्वे र मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशहरूले पनि ५६ वर्षीय मदुरोलाई समर्थन जनाएका छन् ।

६. न्यायिक क्षेत्र– भेनेजुएलाको सर्वोच्च अदालतले मदुरोलाई समर्थन गरेको छ । त्यस अदालतका न्यायाधीशहरू सन् २०१५ को डिसेम्बरमा विपक्षीहरूले नियन्त्रण गर्नुभन्दा ठीक अगाडि सरकारपक्षीय राष्ट्रिय सभाले चयन गरेको थियो । उनीहरूले बिहीबार मदुरोलाई समर्थन रहेको घोषणा गरेका हुन् । त्यसैगरी, भेनेजुएलाका महान्यायाधीवक्ता टारेक विलियम साब पनि मदुरोको समर्थक हुनुभएको छ ।

७. राष्ट्रिय निर्वाचक सभा– विपक्षीहरूले यसको बैधता र निस्पक्षतामाथि प्रश्न उठाएका छन् । तर यिनीहरूले भने सरकारलाई समर्थन गरेका छन् ।

८. निर्वाचन प्राधिकरण– राष्ट्रिय निर्वाचक परिषद् (सिएनइ) को अध्यक्षता सरकारद्वारा मनोनित टिबिसी लुसेनाले गर्नुभएको छ । उहाँलाई सरकार समर्थक मानिन्छ । उहाँका कारण धेरै विपक्षी पार्टीहरू अवैध घोषणा गरिएका छन् । उहाँले बिहीबार विज्ञप्ति जारी गर्दै मदुरोप्रति समर्थन जनाउनुभएको छ ।

गत मे महिनामा भएको निर्वाचनमा विपक्षी दलहरूले सहभागिता जनाउन अस्वीकार गरेका थिए । निर्वाचकहरूको निस्पक्षताप्रति प्रश्न उठाउँदै उनीहरूले सहभागिता नजनाएका हुन् । तर, पनि निर्वाचकहरूले मदुरोलाई निर्वाचित भएको घोषणा गरे ।

गुएइदोको पक्षमा

१. अन्तर्राष्ट्रिय समुदाय – संयुक्तराज्य अमेरिकासँगै अरू धेरै दक्षिण अमेरिकी देशहरू, युरोपेली संघमा आवद्ध देशहरूलगायतले मदुरो पुनर्निवार्चित भएको स्वीकारेका थिएनन् । त्यसैले अहिले उनीहरूले गुएइदोलाई समर्थन जनाएका छन् ।

गुएइदोले आफैँलाई मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल उहाँलाई समर्थन जनाउनुभएको थियो । अन्य देशहरू ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अस्ट्रेलियालगायतले पनि ट्रम्पलाई पछ्याएका थिए । यो सूचीमा इजरायल पनि आइतबार थपिएको छ ।

२. छ युरोपेली देशहरू – युरोपेली संघका स्पेन, फ्रान्स, जर्मनी, बेलायत, पोर्चुगल, नेदरल्यान्ड्स लगायतका देशहरूले आठ दिनभित्रमा निर्वाचनको घोषणा गर्न भेनेजुएला सरकारलाई आग्रह गरेका छन् । नत्र गुएइदोलाई नै समर्थन गर्ने उनीहरूको भनाइ छ । तर युरोपेली संघकै ग्रिसले भने अहिलेसम्म पनि मदुरोलाई नै समर्थन जनाएको छ ।

३. राष्ट्रिय सभा– विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रिय सभाले गुएइदोलाई अन्तरिम कार्यबाहक राष्ट्रपति घोषणा गरेको छ । यस सभाको निर्वाचन सन् २०१५ मा भएको थियो । यसमा विपक्षी पार्टीहरूको गठबन्धनको प्रभाव रहेको छ ।

४. न्यायिक क्षेत्रबाट निष्कासितहरू– भेनेजुएलाको सर्वोच्च अदालतबाट एक जना न्यायाधीश निष्कासनमा परेका छन् जसलाई राष्ट्रिय सभाले मनोनयन गरेको थियो । गत बिहीबार उनले गुएइदोको कार्यबाहक अन्तरिम राष्ट्रपति भएको घोषणालाई स्वागत गरेका थिए । यसरी दुई नेताको पक्षमा अन्तर्राष्ट्रिय समुदाय थपिने क्रम जारी छ । विश्वसमुदाय नै विभाजित भएपछि भेनेजुएलाको संकट थप चर्किदै जाने देखिएको छ ।

राजनीतिक संकट चर्किंदै जादा देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा दुई दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गर्नुभएको छ ।

तेलको धनी राष्ट्र भेनेजुएला अहिले आर्थिक रूपमा अत्यन्त कमजोर स्थितिमा पुगेको छ । भेनेजुएलामा उत्पादित एकतिहाइ इन्धन अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरूले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् । आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।

प्रतिक्रिया