मर्यादापालको विषय संसद्मा

बुटवल । प्रदेश–५ का मर्यादापालकमाथि कारबाही गरिएको विषयले संसद्मा प्रवेश पाएको छ । आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद वसुरुद्दिन खाँनले मर्यादापालकको आवाज बन्द गर्न नहुने बताए ।

मर्यादापालकको गुनासोसहित समाचार प्रकाशित भएपछि गुनासो सम्बोधनका सट्टा कारबाही गरिएको भन्दै उनले फिर्ता पठाइएका मर्यादापालकलाई पुनर्बाहली गर्नुपर्ने बताए । उनले संसद्को सुरक्षार्थ खटिएका मर्यादापालकलाई अपमान गर्न नहुने भन्दै आफ्नो पार्टीको आपत्ति भएको उनले बताए ।

आपूुलाई लागेको गुनासो गर्ने अधिकार सबैलाई भएको भन्दै मर्यादापालकलाई हटाउनुको कारण उनले संसद्मा जवाफ मागे । त्यस्तै उनले मर्चवारमा तत्काल सडक निर्माण गर्नुपर्ने बताए । त्यस्तै सांसद दीपेन्द्र थारूले वनका कारण हुलाकी राजमार्गको काम रोकिएको भन्दै तत्काल त्यसको समाधानका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने बताए ।

आइतबारको बैठकले भवन निर्माण, व्यवस्थापन तथा निर्माणसम्बन्धी बनेको विधेयकलाई दफाबार छलफलका लागि भौतिक पूर्वधार तथा विकास समितिमा पठाइएको छ । त्यस्तै बैठकमा प्रदेशको नामाकरण तथा राजधानी समितिकी सदस्य रमा अर्यालको स्थानमा अष्टभुजा पाठक, कार्यव्यवस्था परामर्श समितिकी सदस्य रमा अर्यालको स्थानमा निर्मला क्षेत्रीलाई फेरबदल गरिएको सूचना सभामुख पूर्णबहादुर घर्तीले सभामा दिएका थिए । संसद्को अर्को बैठक १८ माघ १ बजे बस्नेछ ।

प्रतिक्रिया