पारसलाई हृदयघात

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई तेस्रोपटक हृदयघात भएको छ । हृदयघात भएपछि उनको अहिले राजधानीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकका अनुसार सोमबार रातिसम्म उनको अवस्था स्थिर र क्रिटिकल रहेको जनाएको छ । हृदयघात भएपछि मुटुको धमनीमा स्टेन्ट हालिएको छ । उनलाई यसअघि बैंककमा ह्रदयघात भएपछि स्टेन्ट हालिएको ठाउँमै यसपटक धमनीमा अवरोध देखिएको चिकित्सकले जानकारी दिए ।

उनलाई सोमबार दिउँसो ४.१५ बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो । शाहलाई मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्ट र डाक्टर जेपी जैसवालको निगरानीमा स्वास्थ्य उपचार जारी राखिएको छ । पारसको उपचार नर्भिकका चिकित्सक डा.यादवकुमार भट्टको टोलीले गरिरहेको छ । नर्भिकमा उपचाररत उनको स्थिति ‘क्रिटिकल र स्थिर’ रहेको अस्पतालले जनाएको छ ।

‘मुटुको भल्भ खोलेर स्टेन राखेको छ । अक्सिजन दिइरहेका छौँ’, अस्पतालका चिकित्सक डा.भट्टले सञ्चारकर्मीसँग भने, ‘अझै कम्तीमा दुई दिन अस्पतालै बसेर उपचार गर्नुपर्छ ।’

पारसको सार्वजनिक कार्यक्रममा सहयोग गर्दै आएका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार स्वास्थ्यमा सुधार आएपछि जनरल वार्ड सारिएको छ । ‘पूर्व युवराजको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ, चिन्ता लिनुपर्ने अवस्था छैन’ बस्नेतले भने, ‘एन्जिओप्लास्ट गरिएपछि उहाँलाई जनरल वार्डमा सारिएको हो ।’

स्रोतका अनुसार, स्वास्थ्यमा समस्या देखिएपछि पारस भान्जा पर्ने एकजना नातेदारसँग नर्भिक अस्पताल पुगेका थिए । अहिले उनको रेखदेखमा बहिनी प्रेरणा छिन् । उनको मुटुमा ०७२ साल साउन १० गते नर्भिकमै मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर(आइसिडी) समेत छातीमा प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया