सुन तस्करीका मुद्दा एउटै इजलासमा

काठमाडौं । सुन तस्करीका मुद्दालाई लिएर न्याय परिषद्ले एक्सन लिएपछि त्यसको असर उच्च अदालत विराटनगरमा देखिएको छ । पहिला छुट्टाछुट्टै हेर्ने गरिएको एकै प्रकारको मुद्दा अब एउटै इजलासमा हेरिने भएको छ ।

सुन तस्करी र सनम शाक्य हत्याका मुद्दा अब एकै इजलासमा हेरिने भएको हो । छुट्टाछुट्टै हेरिँदा विवाद बढेपछि यो मुद्दाको पेसी २५ पटकसम्म सरिसकेको छ । उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले अब एकै इजलासले निरन्तर हेर्ने र आदेश पनि एकसाथ गर्ने तयारी भएको जानकारी दिएका छन् । उनका अनुसार कायममुकायम मुख्य न्यायाधीश शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले सुन मुद्दालाई नफुटाउने गरी एउटै इजलासमा राख्न आदेश दिएको छ ।

छुट्टाछुट्टै हेरिँदा विवाद बढेपछि यो मुद्दाको पेसी २५ पटकसम्म सरिसकेको छ । उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले अब एकै इजलासले निरन्तर हेर्ने र आदेश पनि एकसाथ गर्ने तयारी भएको जानकारी दिएका छन्

कामु मुख्य न्यायाधीश अधिकारी हेटौँडा उच्च अदालतबाट विराटनगर सरुवा भएका हुन् । न्याय परिषद्ले काज सरुवा गरेका न्यायाधीशहरू उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई खटाइएको छ । यो मुद्दाका आरोपितमाथिको निवेदन व्यवस्थापन र सुनुवाइका क्रममा विवादमा परेका तत्कालीन मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ न्यायाधीश न्याय परिषद् सचिवालयमा तानिएका थिए ।

फरक–फरक इजलासमा राखेपछि त्यतिबेलै न्यायाधीश र कानुन व्यवसायीबीच मतभेद बढेको थियो । कानुन व्यवसायीले केही समय अघोषित रूपमा ‘इजलास बहिष्कार’समेत गरेका थिए । जिल्ला अदालतको आदेशपछि थुनामा रहेकाहरूले दिएको पुनरावेदनमध्ये १२ वटाको आदेश आउन बाँकी छ ।

सुन तस्करीमा जिल्लाको आदेशपछि थुनामा रहेका चूडामणि उप्रेती (गोरे), भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, लक्षुबहादुर गुरुङ, सैयाद अकबर, इस्तियाज उद्दिन, बेनु श्रेष्ठ, छिरिङ वाग्ले घले, रेवतकुमार आचार्य, विनोद अधिकारी, मोतीराम श्रेष्ठ र कान्तिपुर होलिडेज र श्री एवल नेपाल ट्राभल्स एन्ड टुर प्रालिको मुद्दामा आदेश आउन बाँकी छ ।

प्रतिक्रिया