पाइलट मानसिक तनावमा

काठमाडौं । ५१ जनाको ज्यान जाने गरी भएको युएस–बंगाला एयरको विमान दुर्घटनामा पाइलट नै मुख्य दोषी रहेको छानबिन आयोगले निष्कर्ष निकालेको छ । मुख्य पाइलट अविद सुल्तानको असावधानी र मानसिक तनावका कारण विमान दुर्घटनामा परेको उल्लेख गरेको हो ।

विमान दुर्घटनाका विषयमा विमान कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भनाइ घटनालगत्तै बाझेको थियो । ल्यान्डिङ गर्ने क्रममा पाइलट र एटिसीबीच जिरो टू वा टू जिरो भन्नेमा अलमल भएको अडियो वार्ता बाहिरिएपछि विमान कम्पनीले एटिसीलाई दोषी ठहर्याएको थियो । तर, छानबिन प्रतिवेदनले भने पाइलटलाई मुख्य दोषी ठहर गरेको छ । सो विमान बंगालदेशको ढाकाबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा गत वर्षको फागुन २९ गते दुर्घटनामा परेको थियो ।

दुर्घटना जाँचबुझ आयोगले आइतबार पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई अन्तिम रिपोर्ट बुझाएलगत्तै प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले युएस बंगलाको विमान दुर्घटना हुनुअघि खेलेको भूमिकाभन्दा थप प्रयास र सावधानी अपनाउन सक्ने विषय पनि उल्लेख गरेको छ ।

छानबिन प्रतिवेदनले दुर्घटनामा परेको विमानको अवस्था राम्रो रहेको भए पनि अवतरणका लागि विमानलाई तयारी गर्नुपर्ने कुरामा हेलचेक्र्याइँ गरिएको निष्कर्ष निकालेको छ । अवतरण गर्नुअघि संवेदनशील भएर विमानलाई जुन अवस्थामा राखेर रन–वेमा ल्याउनुपर्ने हो, त्यस्तो नभएको भनिएको छ ।

विमानभित्र पाइलटले गरेका कुराकानी र कामहरूले सुल्तान मानसिक तनावमा रहेको पनि पुष्टि भएको छ । उनले ककपिटभित्रै चुरोट पिएको पाइएको दाबी प्रतिवेदनमा गरिएको छ । उनले विमानभित्र अनावश्यक खालका कुराकानीहरू गरेको र संवेदनशील ढंगबाट विमान नउडाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, कारणले असावधानीपूर्ण ल्यान्डिङ गराउँदा विमान धावनमार्गबाट बाहिर गएर दुर्घटनामा परेको प्रतिवेदनले जनाएको छ । यस्तै, नेपाली एयर ट्राफिक कन्ट्रोलरले पनि विमान सुरक्षाका लागि अधिकतम् प्रयास गर्नुपर्नेमा त्यसमा कमजोरी भएको पाइएको छ । विशेष गरी रन–वेको कुन भागबाट ल्यान्डिङ गराउने भन्ने विषयमा ट्राफिक कन्ट्रोलर र पाइलटबीच भएको संवादले यसलाई पुष्टि गर्ने प्रतिवेदनले जनाएको छ ।

‘तर, एयर ट्राफिक कन्ट्रोलरले विमान दुर्घटनाबाट नै बचाउन सक्ने अवस्था भने थिएन, किनभने विमानलाई जताबाट पनि अवतरण गराउन सकिने गरी रन–वे खाली गरिएको थियो,’ पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘विमानलाई सही अवस्थामा राखेर मात्रै रन–वेमा नआउँदा दुर्घटना भएको देखिन्छ ।’ यस्तो ल्यान्डिङ त सजिलै गरिहाल्छु नि भन्ने तवरबाट धावनमार्गमा आउँदा विमान अनियन्त्रित भएर बाहिर गएको प्रतिवेदनले जनाएको उनले बताए ।

सन् २०१८ को मार्च १२ मा एयरलाइन्सको बम्बार्डिएयरको डिएचसी सिरिजको जहाज उडान नम्बर बिएस २११ बाट ढाँकाको विमानस्थलबाट उडेको थियो । भारतीय आकाश हुँदै नेपाल प्रवेस गरेको उक्त जहाजका पाइलटले ढाँकाको एटिसीसँगको कुराकानीकै क्रममा तनावपूर्ण आवाज सुनिएको थियो । जहाजमा रहेको सिभिआर रेकर्डमा त्यस्तो अवस्था पाइएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पाइलटले अर्को उडान दलको सदस्यसँग कुरा गर्दा अनावस्यक गफ गरेका थिए । उक्त त्यो कुराकानीमा भावनात्मक रुपमा विक्षिप्त भएको स्पष्ट प्रकट भएको सदस्य सचिव लामिछानेले बताए । काठमाडौं विमानस्थलसँगको सम्पर्कपछि एटिसीले एप्रोच दियो। उक्त एप्रोच दिएपछि १३००० फिटमाथि होल्ड गर्न निर्देशन पनि दियो। त्यसपछि एटिसीले फेरि गति कम गरेर १२००० फिटमा आउन निर्देशन दियो । त्यसपछि फेरि १५ हजार फिट माथि जान भयो र रनवे ०२ का लागि भिओआर एप्रोचका लागि क्लियर गरिदियो ।

‘तर त्यही बेला उडान दलका सदस्यले त्यो निर्देशन बिर्सिए। त्यतिबेला उनीहरु अनावस्यक गफमा थिए’ प्रतिवेदनमा भनिएको छ । त्यसपछि जहाज होल्डकै अवस्थामा रह्यो र झन उचाइमा गयो । टावरले दिएको ०२ छोडेर जहाजले २० को एप्रोच लियो । त्यतिबेला एटिसीले फेरि सोध्यो कहाँबाट अवतरण गर्ने भनेर पाइलटले त्यतिबेला जवफा फेरि २० मा गर्ने भनेर जवाफ दिए । जहाजले यति धेरै दिसा बदल्यो कि उसले मेसो नै पाउन सकेन । धेरै ठाउँमा पाइलटले कमजोरी गरेको पाइएको छ । समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया