हिमपातसँगै सञ्चार र यातयात अवरुद्ध

मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा हिउँ जमेपछि बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा एक फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड गाउँपालिका र थासाङ गाउँपालिकामा सञ्चार अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जानकारी दिएको छ ।

चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए । स्थानीयबासिन्दा घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन ।

पर्यटकीयस्थल पनि सुनसान छन् । जोमसोम विमानस्थलमा एक फिट हिउँ जमेको कारण अवरुद्ध भएको छ । भारी हिमपातका कारण हवाई उडान नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय प्रमुख भानु कौरलाले बताए । मौसम राम्र्रो हुनासाथ हिउँ पन्छाउने कौरलाले बताए । पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा भने खुसियाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो ।

वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–३ लेतेका कृषक नरसिंह शेरचनले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने शितोष्ण बागवानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताए । स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।

प्रतिक्रिया