ओसाका र पेत्रा उपाधिका लागि भिड्ने

मेलबर्न । जापानिज स्टार नाओमी ओसाका र चेकरिपब्लिककी पेत्रा केभिातोभा वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको उपाधिका लागि शनिबार भिड्ने भएका छन् । मेलबर्न पार्कस्थित रोड लाभेर एरिनामा बिहीबार भएको सेमिफाइनलमा चौथो वरीयताकी नाओमीले चेकरिपब्लिककै कारोलिना प्लिसकोभालाई हराउँदै जापानिज स्टार ओसाकाले चेककै पेत्रासँगको भेट पक्का गरेकी हुन् ।

ओसाकाले सातौं वरीयताकी कारोलिनामाथि ६–२, ४–६ र ६–४ को जित निकालेकी थिइन् । ओसाका आफ्नो करियरको दोस्रो पटक ग्रान्डस्लामको फाइनलमा पुगेकी हुन् । गत वर्ष युएस ओपनको फाइनल पुगेकी ओसाकाले २३औं पटक ग्रान्डस्लाम च्याम्पियन सेरेना विलियम्सलाई हराउँदै पहिलो पटक ग्रान्डस्लामको उपाधि उचालेकी थिइन् । २१ वर्षे ओसाकाले यसपटक पनि फाइनलको यात्रा तय गर्न कारोलिनामाथि १५ एसेस र ५६ विनर्स प्रहार गरेकी थिइन् । ४०–३० को स्थितिमा फोरह्यान्ड प्रहार गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् ।

जितपछि ओसाकाले दोस्रो सेटमा प्लिसकोभाले सेटमा बराबरी गरेपछि खेलमा दबाव महसुस गरेकी बताइन् । ‘मैले उनीसँगै कयौं पटक खेलिसकेको थिए,’ओसाकाले भनिन्,‘ त्यसैले जित्ने केही आशा थियो । त्यही अनुरूप खेले र जित निकाले । ’ यता, २८ वर्षीया केभितोभा पनि तेस्रो पटक ग्रान्डस्लामको फाइनलमा पुगेकी छन् । अस्ट्रेलियन ओपनमा भने उनी पहिलो पटक फाइनलमा पुगेकी हुन् ।

दुई पटक विम्बल्डन च्याम्पियन केभितोभा सन् २०१६ को डिसेम्बरमा चोरद्वारा चक्कु प्रहार भएपछि भने पहिलो पटक फाइनलमा पुगेकी हुन् । सो आक्रमणमा केभितोभाको औंलामा गहिरो चोट लागेको थियो । फाइनलको यात्रा तय गर्ने क्रममा विश्व नम्बर एक सिमोना हालेपलाई समेत स्तब्ध बनाएकी केभितोभोले चेक रिपब्लिकको उपाधि जित्ने सम्भावनालाई पनि जोगाइ राखेकी छिन् ।

अर्को सेमिफाइनलमा केभितोभाले गैरवरीयताकी डेनिइली कोलिन्सलाई समेत स्तब्ध बनाइन् । आठौं वरीयताकी २८ वर्षीया केभितोभाले २५ वर्षीया कोलिन्समाथि ७–६(७–२) र ६–० को जित रचेकी थिइन् । उनले कोलिन्सविरुद्ध जित निकाल्न कयौं पटक फोरह्यान्ड प्रहार गरेकी थिइन् । ‘फाइनलमा स्थान बनाउन सकेकोमा एकदम खुसी छु,’केभितोभाले भनिन्,‘उपाधि पनि जित्ने मेरो लक्ष्य हुनेछ ।’

उपाधि जित्ने खेलाडीले विश्व नम्बर एक सिमोनालाई समेत प्रतिस्थापन गर्नेछन् । केभितोभाले अमेरिकी स्टारमाथि जित निकाल्न पहिलो सेटमा ४१ प्रतिसत सर्भिसमा सफलता प्राप्त गरिन् । दोस्रो सेट भने केभितोभाले सहजै आफ्नो पक्षमा बनाउँदा ३२ मिनेट मात्र खर्चिन् ।

दोस्रो वरीयताका स्पेनिस स्टार रफाइल नाडलले पनि ग्रीकका स्टार स्टेफानोस सितसिपासलाई हराउँदै पाचौं पटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन् । ३२ वर्षे नाडलले २० वर्षे स्टेफानोसविरुद्ध ६–२, ६–४ र ६–० को जित निकालेका थिए । त्यसक्रममा नाडलले १४औं वरीयताका सितसिपासमाथि एक घन्टा ४६ मिनेटमा जित दर्ता गरे ।

नाडलले ग्रीकका प्रतिद्वन्द्वीविरुद्ध २८ विनर्स प्रहार गरेका थिए । नाडलले फाइनलमा शीर्ष वरीयताका सर्बीयन स्टार नोभाक जोकोभिच र फ्रान्सका लुकास पौइलेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । नाडलले उक्त खेल निकै उत्कृष्ट भएको बताएका थिए । ‘मैले आज राम्रो नै खेले,’ नाडलले भने,‘विश्वास छ आगामी खेलमा पनि सोही किसिमको प्रदर्शन दोहो¥याउनेछु ।’

प्रतिक्रिया