भारतद्वारा सीमामा एकलौटी नाली निर्माण

धनगढी । दशगजामा भारतीय पक्षले एकलौटी रूपमा नाली निर्माण गर्न सुरु गरेको छ । कञ्चनपुरको पुनरवास नगरपालिका–११ डोकेबजार नजिक दशगजा क्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा नाली निर्माण गर्ने कार्य सुरु गरेको हो ।

नेपाली पक्षको सहमतीविना नाली निर्माण भएपछि स्थानीय वासिन्दाले विरोध जनाएका छन् । भारतको वन विभागले नाली निर्माण गरिरहेको हो । नेपाल–भारत सीमा क्षेत्रको गौरीफन्टा नाका र पुनर्वासको डोकेबजारस्थित सीमास्तम्भ १ सय ५३ देखि १ सय ७१ मा पर्ने दशगाजामा डोजर प्रयोग गरेर भारतीय पक्षले झन्डै दुई किलो मिटरसम्म नाली निर्माण तथा तारजाली गर्न लागेको हो ।

स्थानीय बासिन्दाले भने नेपाली प्रशासन मुकदर्शक बनेको भन्दै आक्रोश पोखेका छन् । नेपाली सीमा सुरक्षा बल सशस्त्र प्रहरीको पहलमा वन अधिकारीहरू नाली निर्माणको विषयमा छलफलमा जुटेका छन् । जैविक मार्ग भएकोले नाली खनेर तारबार लगाउन पाउने कि नपाउने वा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको नेपाली अधिकारीहरूले जनाएका छन् ।

तीन-चार दिनदेखि आधाभन्दा बढी नाली निर्माणका लागि खाल्डो खनेको गुनासो आएपछि नेपाली सुरक्षा समितिले सो कार्य रोक्न अनुरोध गरेको थियो । बिहीबार भने सो क्षेत्रमा कुनै काम अघि नबढेको कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

दुधवा राष्ट्रिय निकुञ्जका वनरक्षक मनोज कुमारले चोरी सिकारी, अवैध तस्करी नियन्त्रण गर्न सो क्षेत्रमा नाली तथा तारजाली निर्माण गर्न लागिएको बताए । उनले आफनै सिमानामा जैविक मार्गलाई अप्ठ्यारो नपर्ने गरी सो नाली निर्माण गर्न लागिएको बताए ।

प्रतिक्रिया