वडाध्यक्ष कोरिया पलायन

संखुवासभा । स्थानीय तहको निर्वाचनमा जनताको सेवा गर्छु भनेर जनतासामु भोट मागेर खाँदबारी नगरपालिका–५ बाट वडाध्यक्षमा बमबहादुर घले विजयी भए । तर, विडम्बना विजयी भएको पाँच महिनापछि व्यक्तिगत कारण देखाउँदै घले कोरिया पलायन भए । घरयासी बाध्यताले आफू केही समय कोरिया गएको वडाध्यक्ष घलेले जानकारी दिए ।

वडाध्यक्ष घले ०७४ मंसिर २९ को नगरकार्यपालिको बैठकदेखि हालसम्म अनुपस्थित रहेको खाँदबारी नगरपालिकाले जनाएको छ । वडाध्यक्ष घलेले वडासदस्य श्यामप्रसाद निरौलालाई कार्यवाहक छाडेर व्यक्तिगत काममा गएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताए । ०७४ माघ १८ देखि निरौलाले कार्यबाहक वडाध्यक्षका रूपमा काम गरिरहेका छन् ।

गत असोजमा नै फर्कने तयारीे रहेको भए पनि व्यावहारिक कठिनाइका कारण आपूm नेपाल फर्केर जनताको सेवामा काम गर्न नसकेको वडाध्यक्ष घलेले बताए । घलेले भने, ‘केही महिनाभित्रमा स्वदेश फर्किएर पदभार सम्हाली जनताको सेवामा काम गर्नेछु ।’ जनमतले विजयी भएर जिम्मेवारी पाएको पूरा समयभर जनताको पक्षमा काम गर्न नसकेकोमा घलेले चिन्ता व्यक्त गरे । चाँडै स्वदेश फर्किएर जनताले दिएको जिम्मेवारी पूरा गर्ने घलेले बताए ।

‘स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्छौं भनेर जनतासँग मत मागेर उहाँलाई जितायौँ तर उहाँ अहिले विदेश जानुभएको छ’, स्थानीय दनकुमारी राईले भनिन् । राई भन्छिन्, ‘फोन गर्दा तीन महिनाका लागि भनेर जानुभएको तर अहिलेसम्म फर्कनु भएको छैन ।’ राईले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् ।

३६ मतको अन्तरले उनी पराजित भएको बताउँछिन् । महिला सदस्यमा एमालेकी गोपी घिमिरे(पराजुली) विजयी भएकी थिइन् । वडाध्यक्ष नै वैदेशिक रोजगारीका लागि गएपछि प्रतिस्प्रधीहरूले कुरा काट्ने गरेको राई बताउँछिन् । वडाको काम नरोकिए पनि वडाध्यक्षको अभावमा काम गरेर देखाउन असज भएको राइको भनाइ छ । राई भन्छिन्, ‘जनताको काम गर्ने रहर हुँदाहुँदै पनि मैले चुनावमा हार बेहोर्नु प¥यो नै, तर वडाध्यक्षले पनि बाध्यताले विदेश जानुपर्यो ।’

नेपाली कांग्रेसको तर्फबाट घले विजयी भएको घलेले स्थानीय तहको चुनावमा ३ सय ४९ जनमत ल्याएर विजयी भएका थिए । तत्कालीन एमालेका विर्खराज राईले ३ सय ८ मत मात्र ल्याएर पराजय भोग्नुपरेको थियो । वडाध्यक्ष घलेले निकटम प्रतिद्वन्द्वी राईको भन्दा ४१ मत बढी ल्याई विजयी भएका थिए । जनमत नपाएर हार बेहोरेका विर्खराज राई भने अहिले स्थानीय विद्यालयको विद्यालय निर्माण समितिको अध्यक्ष भएर काम गरिरहेका छन् । राईले भने, ‘जनमत नपाए पनि अहिले समाजसेवा र घरयासी काममा व्यस्त रहेको छु ।’

‘स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १५ को ११६ मा कार्यवाहक भई कार्यगर्न सक्ने शीर्षकमा वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यहरूले आपूmहरू मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक वडाध्यक्ष भई कार्य गर्नेछ’, भनी उल्लेख गरिएको छ ।

त्यसैगरी नेपालको संविधानको धारा २१६ को उपधारा ९ मा अध्यक्ष र उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त भएमा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदको पूर्ति हुने उल्लेख छ । उपधारा ८ मा प्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा लिएमा, निजको पदावधि समाप्त भएमा वा निजको मृत्यु भएको अवस्थामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पद रिक्त हुने व्यवस्था रहेको छ ।

खाँदबारी नगरपालिका–३ का तोयानाथ ढुंगनाको हृदयघातका कारण मृत्यु भएका कारण पद रिक्त रहेका छ ।

प्रतिक्रिया