प्रियंका पनि अब सक्रिय राजनीतिमा

नयाँदिल्ली । भारतमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा देशकै सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसले नेहरू –गान्धी परिवारबाट प्रियंका गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको छ ।

उनी पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी एवम् वर्तमान पार्टी अध्यक्ष राहुल गान्धीकी बहिनी हुन् । पार्टीले उनलाई पूर्वी उत्तर प्रदेशको महासचिव नियुक्त गरेको छ । आगामी फेब्रुअरी महिनादेखि उनले त्यो भूमिका निर्वाह गर्नेछिन् ।

भारतमा एप्रिल र मे महिनामा लोकसभाको निर्वाचन हुँदै छ । नर्वाचन हुने कुल ५ सय ४३ संसदीय क्षेत्रमध्ये उत्तर प्रदेश राज्यमा सर्वाधिक ८० क्षेत्र छन् । भारतको राजनीतिमा उत्तर प्रदेशलाई महत्वपूर्ण राज्य मानिन्छ ।

यहाँबाट जवाहरलाल नेहरूदेखि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सात नेताहरू प्रधानमन्त्री बनेका छन् । उत्तर प्रदेशका विभिन्न स्थानबाट गान्धी परिवारका सदस्यहरू निर्वाचनमा सहभागी हुँदै आएका छन् । राहुल गान्धी सन् २००४ देखि सो राज्यको अमेठीबाट निर्वाचित हुँदै आएका छन् ।

सत्तारूढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्ष कांग्रेस दुवैले उत्तर प्रदेशका लागि विशेष निर्वाचन रणनीति बनाउने आकलन गरिएको छ । गत संसदीय निर्वाचनमा भारतीय जनता पार्टी उत्तर प्रदेशका ८० मध्ये ७५ स्थानमा विजयी भएको थियो । मोदीले बनारसको निर्वाचन क्षेत्रबाट जितेका हुन् ।

सन् १९८० को दशकसम्म उत्तर प्रदेशमा कांग्रेस पार्टीको वर्चस्व थियो । तर विभिन्न राजनीतिक कारणले गर्दा सो दलले त्यहाँ आफ्नो प्रभाव गुमाउन थाल्यो । प्रियंका गान्धीलाई मैदानमा ओरालेर कांग्रेसले आफ्नो प्रभाव फिर्ता लिन खोजेको छ ।

कांग्रेस नेता राजीव शुक्लाका अनुसार प्रियंका गान्धीबाट पार्टीलाई निर्वाचनमा उत्तर प्रदेशमा मात्र नभएर देशैभरि फाइदा पुग्ने बताएका छन । तर, भारतीय जनता पार्टीले भने कांग्रेसको निर्णयप्रति व्यंग्य गरेको छ ।

सो दलका प्रवक्ता सम्बित पात्राले भने, सबैतिरबाट अस्वीकृत भएपछि कांग्रेसले गान्धी परिवारबाटै सहयोग खोजेको छ । ‘बीजेपी र कांग्रेसमा एउटा आधारभूत भिन्नता छ – बीजेपीका लागि पार्टी परिवार हो तर कांग्रेसका लागि परिवार नै पार्टी हो ।’

प्रियंका गान्धीको तुलना उनकी हजुरआमा इन्दिरा गान्धीसँग गर्ने गरिन्छ । उनको केश, लुगा र कुरा गर्ने तरिकामा पनि इन्दिरा गान्धीको झल्को आउँछ । उनी सक्रिय राजनीतिमा आउने चर्चा धेरै पहिलादेखि हुन थालेको हो ।

सन् २०१४ को निर्वाचनमा उनी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीविरुद्ध बनारसबाट उठ्न चाहन्थिन् । तर उनलाई त्यसो नगर्न सल्लाह पार्टीभित्रबाटै दिइएको बताइन्छ ।

राहुल गान्धीले कांग्रेसको नेतृत्व सम्हालेपछि प्रियंका गान्धी पार्टीमा केही समय सक्रिय देखिइन् । तर, विस्तारै उनी निष्क्रिय हुन थालिन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिन प्रियंका गान्धीलाई निर्वाचन अभियानमा प्रयोग गर्नुपर्ने धारणा पार्टीभित्र हुँदै आएको थियो ।

तर आमा सोनिया गान्धी भने राहुल गान्धीलाई बलियो बनाउन चाहन्थिन् । प्रियंका राजनीतिमा आउँदा दाजु र बहिनीबीच तुलना हुने र त्यसबाट पार्टीलाई हानि पुग्ने डर सोनिया गान्धीमा भएको बताइन्छ ।

यसअघि सन् २००४ मा पनि पार्टीले प्रियंकालाई सोनिया गान्धीको निर्वाचन अभियानमा प्रयोग गरेको थियो ।

प्रतिक्रिया