सारंगी रेट्दै भविष्य खोज्दै गन्धर्व

काठमाडौं त्यसमाथि वसन्तपूर । स्वदेशी र विदेशी जति वेला पनि भिड भाडा भै रहन्छ । त्यही व्यस्त र साँघुरो सडकभन्दा अलिक फराकिलो लाग्ने सडक पेटिमा विहानैदेखि मान्छेको भिड लागिरहेको थियो । भिडको बीचबाट मिठो गितसँगै सारंगीको धुन गुन्जिएको थियो । हिजो आज यदाकदा सुन्न पाइने सारंगीको धुन वरपर हिँड्ने सबैको कानसम्म गुन्जँदै थियो । पलेँटी कसेर बसेका चार जना युवा गन्र्धव सारंगी र मादलको धुनमा मस्त थिए । भिडलाई छिचोल्दै कलेजको लुगामा आएका एक युवाले टुप्लुक्क अगाडि उभिए र भने, ‘दाई एउटा मिठो अनि चर्चित गित गाउनु न ? बीचमा बसेका एक गन्र्धवले स्वीकृतिमा टाउको हल्लाउदै मन्द मुस्कान दिँदै पूर्वेली लोक भाकामा गाउन थाले ।

‘भेट त भयो सोल्टिनी ज्यु, के छ नि समाचार ?
धरान धनकुटा भेडेटार, सोल्टिनी ज्यु जोडिन्न घरबार…!

सारंगी रेट्दै मिठो धुनमा कला प्रस्तुत गर्ने ति गन्र्धवको समूहमा रहेका ३५ वर्षीय तारा गन्धर्व, ३८ वर्षीय लालबहादुर गन्धर्व र २६ वर्षीय सुजन गन्धर्व थिए । तारा र लालबहादुरले सारंगी रेट्दै थिए भने सुजन सारंगीलाई मादलको तालले साथ दिँदै थिए । उनीहरूको साथमा बसेर सबैलाई हौसला बढाउने र स्रोताले आफू खुसी दिएको पैसा संकलन गर्दै थिए ४० वर्षीय अमर गन्धर्व । चलन चल्तीमा सारंगी बजाउनेहरूलाई ‘गाइने’ पनि भनेर चिनिने गरिन्छ । तर, हिजो आज गाइने भन्न छाडिएको छ । र भेटिन पनि कमै भेटिन्छ ।

धरानबाट एक महिनाअघि काठमाडांै छिरेको चार जनाको यो समूह पूर्वाञ्चलमा ‘झापाली गाइने’ भनेर चिनिने गरेको उनीहरूले बताए । गन्धर्व समुदायका यि चारै जना आफ्नै नातेदार भित्रका हुन् । कहिले पूर्वको धरान पुग्ने र कहिले पश्चिम पोखरासम्म गाएर सारंगी रेट्दै दिन बिताउने उनीहरूले पालैपालो सारंगी र मादल बजाउँछन् ।

गन्धर्वहरूको मर्म नबुझ्नेहरूले हेप्ने गरेको नजिकै बसेका अमरले सुनाए । गुनासो पोख्दै उनले भने्, ‘पुर्खादेखि चलि आएको आफ्नो कला प्रदर्शन गर्न हामीे कहिल्यै हिच्कीचाएनांँ । गाउँगाउँमा गएर सारंगीको धुनमा गाउने र दुइचार पैसा कमाएर गुजारा गर्दै आएका छौँ, यो हाम्रो समुदायको रित नै हो । समाजका कथित माथिल्ला जातका भनिएकाबाट गरिने भेदभाव अझै पनि कायम नै छ, हामी त्यसको सिकार छौं ।’ उनले भने ।

विद्यार्थी युवाको आग्रहमा धरान धनकुटा गित गाइसकेपछि कुन गित गाउने भनेर उनीहरूले आपसमा सल्लाह गरे । १ घण्टाको समयमा उनीहरूले सारंगी रेट्दै पाँचवटा गित गाए । अमरले आफ्ना कलाका बारेमा भने, ‘आफ्ना लोक भाका त छँदैछन्, ति बाहेक बजारमा चलेका गित गाउँछौ । कहिलेकाहिँ तिनै गितलाई नयाँ मोड दिएर सिर्जनात्मक शैलीमा समेत गाउने गरेकाछौँ ।’ सारंगीको धुन बदल्दै उनले त्रिश्ना गुरुङको स्वरमा सजिएको चर्चित गित आफ्नो भाकामा गाए ।

‘गाइने दाजैले सारंगी रेट्दामा,
हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा …’

हुन त सारंगी रेट्दै मनको कथा व्यथा गितमा उतार्नु गन्धर्व जातिको विशेषता नै हो । भर्खरै मात्र काठमाडौं छिरेका उनीहरूले पश्चिम पोखरादेखि पूर्व धरानसम्म सारंगी रेट्दै आफ्नो दैनिकी चलाउँदै आएका छन् । दैनिकीसँगै सजाएका उनीहरूका विभिन्न सपनाहरू पनि छन् । कयौं सपना उनीहरूका छन्, कयौं उनका परिवारका । उनीहरूले सानै उमेरदेखि सारंगी रेट्दै गाउने पेसा अंगालेका हुन् । हुन पनि जिन्दगी गुजारै गुजाराले मात्र पनि चल्दैन । सपना देखेर मात्रै पनि पूरा हुँदैनन् । मान्छेका कयौं सपना सपना मात्रै हुने गर्छ । विनामा उही खाली हात ।

भनिन्छ, सपना पूरा गर्न कडा मिहनत र संघर्ष गर्नुपर्छ चाहिन्छ । तर विगत २० वर्षदेखि एउटै पेसा अंगालेका उनीहरू देशको जुनसुकै कुनामा पुगे पनि उनीहरूले खासै प्रगति गर्न नसकेको उनीहरूको गुनासो छ । समूहका चारै जनाले केही समयअघि अमर क्लब हिमालय नामक होटेलमा काम गर्थे । त्यहाँ उनहिरूले आफ्नो कामलाई निरन्तरता दिन सकेनन् ।

‘भुकम्पले घर पनि भत्काइदियो । गाएर आर्थिक सहयोग पाइन्छ कि भन्ने आशले हामी काठमाडौं पस्यौँ । समुदायका अन्य साथीहरू भने खाडि मुलुकतिर हानिए । आफुलाई भने खाडी जान मन लागेन । यहि बसेर बाबुबाजेले गरि आएको पेसा गरी खाउँ भन्ने र बस्यौं । तर, कहिलेकाहिँ लाग्छ, बरु विदेसिएकै भए केही प्रगति गर्न सकिन्थ्योकी’ बजाँदै गरेको सारंगी रोकेर खिन्न मुद्रामा तारा गन्धर्वले परिस्थिति सुनाए । जे भए पनि यो सारंगी रेट्दा जति आनन्द अरूकामा नलाग्ने उनले सुनाए ।

उनीहरूले गाएरै दिनमा कम्तिमा २ देखि ४ हजार रूपैयाँसम्म कमाउने गरेको बताए । त्यही कमाइले होटेल बसाइ खाना खर्च गरी घर खर्चसमेत पठाउनुपर्ने ताराले बताए । तिनै जनाको घर पुख्र्यौली घर भोजपुर हो । हाल उनीहरूका परिवार झापामा बस्छन् । काठमाडांैमा अझै दुई तिन महिना बिताउने सुर गरेका उनीहरू सुन्धारास्थित एक होटेलमा बस्दै आएका बताए ।

साँच्चै उनीहरूले भनेझै संघर्ष गर्नेको केही चल्दैन यहाँ । इमान्दारिकता साथ काम गर्ने र दाम कमाउने मान्छे गन्न खोज्दा पनि भेटिँदैनन् । बाँच्नका लागि संघर्ष गर्नेहरूको अवस्था सुध्रिन सकेको छैन । तर, तीनैलाई सोसेर खानेहरूले प्रगतिमाथि प्रगति गर्दै गएका छन् । जुन काम सुरुआत ग¥यो विस्तारै त्यसमा बानी लाग्न थाल्छ र त्यसैमा रमाउन सिकिन्छ । जतिसुकै नराम्रो काम भए पनि त्यसैबाट खुसी मिल्छ । यी गन्र्धव चार भाइलाई पनि सारंगीको नशा लागिसकेको छ । आम्दानी होस् या नहोस् सारंगी रेट्दै कहिले विरह त कहिले माया प्रेमको गित गाएर अरूको मन बहाउन पाए पुग्छ ।

उनीहरू जहाँ मान्छेको भिडभाड बढी हुन्छ त्यहीँ पुग्छन् र सारंगी रेट्दै गित सुनाउन थाल्छन् । मान्छेको अनुहार र रूप हरेर कस्तो गित गाउँदा मन जित्न सकिन्छ भन्नेमा जान्छ उनीहरूको ध्यान । त्यसो गर्न नसक्दा दुई चार रूपैयाँ हात लाग्न कठिन हुन्छ उनीहरूलाई । घर परिवार पाल्ने उनीहरूको एक मात्र विपल्प हो सारंगी रेटनु र गाउनु । उनीहरू भन्छन्, ‘पुर्खा देखि नै गन्धर्व जातिले सारंगी रेट्दै पैसा उठाउँदै हिँडेकाले हमीले पनि पुर्खाको पेसा छोडन सकेनौं’ आफुहरूले सारंगी रेट्ने गन्धर्व जातिको पेसाको जगेर्ना गर्दै आए पनि भावी सन्ततिले यो पेसा नअँगाल्लान् कि भन्ने चिन्ता पनि छ । उनीहरूलाई ।

कुरैकुराको सुरुमा ताराले सारंगीतिर हात सोझ्याउदै शिशिर योगिको स्वरमा सजिएको गित ‘सारंगी त रेटे पनि बोल्छ मिठो ध्वनि, मै कसरि मधुर बनाउ मिठोलाई पनि’ बोलको गित गाए । यसरी कहिले आफ्ना व्यथा त्यहि सारंगीको धुनसँगै व्यक्त गर्दछन् त कहिले अरू नै धुन सुनाएर अरूको मस्तिष्कसम्म पु¥याउँछन् उनीहरू । धुनहरू अरूको मस्तिष्कसम्म पु¥याए पनि गन्धर्व समाजको मौलिक भाका देशभर र विदेशसम्म पु¥याउने धोको भने अधुरै रहेको उनीहरू बताउँछन् । अवसर र वातानरण मिलेमा त्यो पनि पूरा गर्ने उनीहरूले बताए ।

बजिरहेको मादलबाट एकछिनका लागि विश्राम लिएका वर्षीय सुजनले भने, ‘हाम्रो मौलिक र पुर्खौली गायन कला विकास गर्ने उदेश्यले गाउँमा हामीले एउटा ब्यान्ड पनि बनाएका थियौँ । आफ्नै आर्थिक अवस्था कमजोर भएर विकास गर्न सकेनौँ ।’ ‘हामी बाजा आफैँ बनाउँछाँै । कटहरको काठबाट बनेको बाजा मज्जाले बज्छ । त्यसको मूल्य एउटाको १२ सयदेखि ३ हजारसम्म पर्छ । हाम्रो नेपाली दाजुभाइहरूलाई वास्तै छैन । बरु विदेशीहरूले अर्डर गरेर लैजान्छन्’ उनले सुनाए ।

‘आफैँ मिलेर झापामा ‘पुर्वाञ्चल गन्धर्व उत्थाज समाज खोलेका छाैँ ।’ उनले भने, ‘उता तिरको संस्थामा कहिले काहिँ विदेशी संस्थाहरूले हेरिदिन्छन् । तर, यतातिर भने कसैले चासो राखिदिदैनन् ।’ सारंगी बाजा, त्यसमा लागेका मान्छे र गन्र्धव जातिको उत्थानमा सरकारको समेत ध्यान जानुपर्ने उनीहरूले एकै स्वरमा बताए । सारंगी रेट्दै गफ गर्दै गरेका सुजनले सारंगीको धुन फेर्दै, ‘चाहिँदैन हिरा चाहिँदैन मोति चाहिँदैन सम्पति, मलाई चोखो माया देउ …’ बोलको गित गाउन थाले । उनको गितको शब्दमा उनीहरूले माथि भनेजस्तै जे गरे पनि सारंगीप्रतिको आफ्नो आस्था झल्किएको महसुस हुन्थ्यो ।

काठमाडौंको सहरमा काम नभएका र दिन काट्न मुस्किल भएकाहरूलाई उनीहरूले समय बिताउने मेसो पनि बनाउँदै थिए सारंगीको धुनसँगै गाएर । उसो त हिजो आज चाहरे पनि सहजै सारंगीको धुन सुन्न कहाँ पाइन्छ र ? त्यसैले फुर्सदिला मान्छेहरू सारंगीको धुनमा मस्त थिए । वरिपरिको भिड लगभग पातलो भइसकेको थियो भने अन्य मानिसहरूको आवतजावत पनि जारी थियो । छेउमा उभिएका मान्छेहरूले धुनसँग रमाउँदै एकआपसमा कानेखुसी गर्दै थिए । गन्धर्वहरूका अघि फिँजाइएको रुमालमा ५ -१०-२० र ५० रूपैयाँका नोट छरपस्ट देखिन्थे । उनीहरूको कलामा रमाउनेहरूले आफुखुसी रकम दिएर गएका थिए ।

बिहानैदेखि गाउँदा गाउँदै भोक र प्यासले थकित भइसकेका उनीहरू वसन्तपसुरबाट अर्को ठाउँ जाने तरखर गर्दै थिए । भिडबाट एकजनाले फ्याट्ट भन्यो, ‘के हो भनेको त भिखारी पो रहेछ ह्या, । उसको बोली भूँइमा खस्न नपाउँदै अर्कोले भन्यो, ‘अरे उनीहरूले त कम से कम आफ्नो कला देखाएर मिहेनतका साथ बाँचेका त छन्, सकिन्छ भने सहयोग गर्नुस् । होइन भने भिखारीको उपनाम नदिनुस् ।’ दोस्रो व्यक्तिको कुरा सुनेर वरपर बस्नेले पनि समर्थन जनाए पछि पहिलो व्यक्त लुरुक्क परेर हिँडे । वास्तवमा हाम्रो समाजमा अनेक प्रकारका मान्छे छन् । आफूसँग भएका सिप र क्षमता प्रस्तुत गरेर खानेको समेत खिल्ली उडाउन खोजिन्छ

दिनदहाडै लुटेर अनि ठगेर छोटो समयमा अर्ब पति हुनेका भिडमा यी गन्र्धवका चार भाइ कला र गलाले आफू परिवार पाल्ने प्रयासमा छन् । मान्छेसँग भएको कलालाई नबुझी प्याच्च बोल्नेहरूको कमी छैन । यही समयमा गरिखानेलाई प्रोत्सान गर्नुपर्छ भन्नेहरू पनि छन् । आखिर समाजमा अनेक प्रकारका मान्छे बसेका हुन्छन् नै । आफ्नै प्रतिभा र क्षमतामा रमाउने यि गन्र्धव चार भाइको उदाहरण मात्र यो ।

उनीहरू मागेर नभै परिश्रम गरेर मान्छेलाई मनोरञ्जन र सन्देशात्मक गित गाएर कमाइ खानुपर्छ भन्ने विश्वास राख्छन् । आफूसँग भएको प्रतिभा देखाएर जिवन धान्ने आफूहरूको मर्म सारंगीले मात्र बुझेजस्तो लाग्छ उनीहरूलाई । त्यसैले, उनीहरूको काम र क्षमतामा प्रोत्साहन संरक्षण गर्नु जरुरी छ ।

प्रतिक्रिया