विद्यार्थीलाई आगो बालेर तपाइयो

ताप्लेजुङ । जिल्लामा बुधबार बिहानैदेखि चिसो ह्वात्तै बढेको छ । दिउँसोबाट पानी परिरहेको छ भने, उत्तरी भेगमा हिमपातसमेत भएको छ ।

पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहानदेखि परेको हिउँ अहिले करिब चार फिट जमिसकेको पाथीभराबाट पुजारी डिल्ली आचार्यले बताए । हिउँ परेपछि तीर्थयात्री भने आइरहेको आचार्यको भनाइ छ । यस्तो समयमा पाथीभरा जानेले गम्बुटको प्रयोग गर्दा उपयुक्त हुने उनले बताए । अहिले फेदी र काफ्लेपाटीसम्मै हिउँ परेको फेदीका इन्द्रनारायण भट्टराईले जानकारी दिए । चिसोबाट बच्न तातो र झोलिलो खानेकुरा, गेडागुडीको रस तथा न्यानो गरी बस्न चिकित्सकले सुझाएका छन् ।

दिउँसो अत्यधिक चिसोका कारण कतिपय विद्यालयले विद्यार्थीहरूलाई आगो तपाएका छन् । पाथीभरा याङ्वरक गाउँपालिकाको चाक्सिबोटे माध्यमिक विद्यालय र मिक्वाखोलाको पञ्चेश्वरी मावीका विद्यार्थीलाई विद्यालयमै आगो फुकेर तपाइएको हो । ताप्लेजुङको दिउँसोका अधिकतम तापक्रम १२ दशमलव २ डिग्री रहेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । यता मंगलबार दिउँसोको अधिकतम तापक्रम भने १७ दशमलव ५ डिग्री रहेको थियो ।

प्रतिक्रिया