पुरुषले ‘इयरिङ’ लगाउँदा विवाद बढ्दैं

बेइजिङ । चीनको एउटा चर्चित भिडियो प्रसारण साइटले पुरुष कलाकारहरूले कानमा लगाएका इयरिङमाथि सेन्सर लगाएपछि यसले ठूलो विवाद खडा गरेको छ । अमेरिकाको नेट्फ्लिक्स जस्तै प्रसारण सेवा दिने ‘इक्वियी’ मा टपलगायत झुम्का लगाएका अभिनेताहरूको कान ब्लर गरिएपछि यसबारे सबैतिर चर्चा भएको हो ।

यसै प्रसारणबाट लिइएको तस्बिर अहिले अनलाइनमा व्यपाक सेयर भइरहेको छ । चिनियाँ निरीक्षकहरूले सामाजिक रूपमा यसरी पुरुषहरूले इयरिङ लगाउनु अनुपयुक्त रहेको बताउँदै प्रसारकलाई त्यसो नगर्न निर्देशन दिएका हुन् ।

यसअघि पनि चिनियाँ मिडियालाई ट्याटु भएका कलाकारलाई टिभीमा देखाउनमाथि प्रतिबन्ध लगाइएको थियो । चिनियाँ पप कल्चरमा पश्चिमी प्रभाव कम गर्न सरकारले यस्तो नीति अपनाउने गरेको पाइन्छ । चिनियाँ पुरुषत्वको विशेषतालाई जोगाइ राख्न यस्तो गरिएको चिनियाँ अधिकारीहरूको भनाइ छ ।

तर, चिनियाँ फ्यानहरूले भने सामाजिक सञ्जाल वेइबोमार्फत घटनाबारे आक्रोशजनक प्रतिक्रिया दिइरहेका छन् । निकायले महिला र पुरुषबीच सुन्दरताको स्तर छुट्याएको आरोप लगाउँदै उनीहरूल यसलाई लैंिगक रुढीवादिताको नाम दिएका छन् । वास्तवमा दक्षिण कोरियामा पनि पुरुष कलाकारहरूमा एयरिङ लगाउने प्रवृत्ति प्रचलित छ । यसरी देशले जनतालाई सबैतर्फबाट नियन्त्रण गर्न खोजिरहेको प्रयोगकर्ताहरूको गुनासो छ ।

वास्तवमा चिनियाँ सेन्सर प्रणालीलाई विश्वकै सबैभन्दा कठोर मानिन्छ । यस अगाडि पनि चीनले पश्चिमी जीवनशैलीलाई बढावा दिने किसिमका टेलिभिजन कार्यक्रमहरू हटाउन लगाएको थियो । त्यसैगरी, सरकारले समलिंगीको समर्थन गर्ने किसिमका सामग्रीहरूलाई पनि असामान्य सामाजिक व्यवहार ठहर गर्दै निषेध गर्दै आएको छ ।

प्रतिक्रिया