स्थानीय तहले बुझाएनन् विवरण

संखुवासभा । दोस्रो चौमासिक सकिन थोरै समय हुँदासमेत जिल्लाका स्थानीय तहले पहिलो चौमासिक प्रतिवेदन बुझाउन सकेका छैनन् ।

दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नुपर्ने समयमा पनि उनीहरूले पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेका हुन् ।
जिल्लाका १० स्थानीय तह मध्ये दुई स्थानीय तह खाँदबारी नगरपालिका र धर्मदेवी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहले पहिलो चौमासिकको प्रतिवदेन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाले जनाएको छ ।

पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेपछि दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने कोलेनिका संखुवासभाका लेखापाल लेखराज थापा मगरले बताए । उनले भने, ‘हामीले मंसिर पहिलो हप्ताभित्र पहिलो चौमासिकको प्रतिवेदन बुझाउन पत्राचार गरेका थियौँ । तर, एक महिनाभन्दा बढी भइसक्दासमेत दुई स्थानीय तहबाहेक अन्यले बुझाउन सकिरहेका छैनन् ।’

पहिलो चौमासिकभित्र पर्ने साउन, भदौ, असोज र कात्तिक महिनामा कुन कुन योजनाको लागि कति बजेट खर्च भयो ? कति बजेट खर्च हुन बाँकी छ ? कति बजेट खर्च हुने अन्तिम चरणमा छ जस्ता कुरा उल्लेख गरिएको विवरण सहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकको लागि रकम माग गर्नुपर्ने हुन्छ तर पहिलो चौमासिकको प्रतिवेदन बुझाउन ढिलाइ हुँदा आठ स्थानीय तहको दोस्रो चौमासिकको रकम निकासा हुन सकिरहेको छैन ।

पहिलो चौमासिकको प्रतिवदेन नआएसम्म दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने थापा मगरले बताए । पहिलो चौमासिकमा रकम खर्च भएता पनि सफ्टवेयर बेस प्रणली सुरु गर्न नसकिएकोले ढिलाइ भएको र यसको मुख्य कारण कर्मचारी अभाव भएको मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोख्रेलले बताए ।

पहिलो चौमासिकमा उपभोक्ता समिति गठन, सम्झौता लगायतका कार्य हुने भएकाले विकास बजेट खर्च हुन नसक्ने र सोही बजेट बचिरहेकाले प्रतिवदेन बुझाएर दोस्रो निकासाको माग नगरेको उनको भनाइ छ । पोख्रेलले अबको केही दिनमा नै प्रतिवेदन बुझाउने बताए ।

प्रतिक्रिया