गोली प्रहार गरी अभियुक्त पक्राउ

काठमाडौं । प्रहरीले राजधानीको गोंगबुमा हतियार कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । हतियार कारोबारीको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएपछि प्रतिकारमा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । काभ्रेका अभिलाष तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

गोंगबुको एक होटलमा बसेर हतियारको डिल गरिरहेका तामाङलाई डिएसपी होविन्द्र बोगटीको टोलीले नियन्त्रणमा लिएको हो । घुँडामा गोली लागेका अभिलाषको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

हतियारको कारोबार भइरहेको सूचनाका आधारमा गोंगबु मित्रनगरमा रहेको होटल लक प्राइभेट लिमिटेडमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको थियो । होटलको एउटा कोठामा बसेका अभिनाशले प्रहरी पुग्नासाथै पेस्तोल तेर्साएको घटनास्थलमा रहेका प्रहरी अधिकारीको दाबी छ । प्रहरीले नियन्त्रणमा लिनेक्रममा गोली चलाएको दाबी गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले नियन्त्रणमा लिनका लागि तामाङ बसेको कोठामा छिर्नासाथ पेस्तोल ताकेपछि गोली चलाउनुपरेको बताए ।

प्रहरीले तामाङका साथबाट अटोमेटिक पेस्तोल र लोड भएको ६ राउन्ड गोली बरामद गरेको छ । ‘घाइतेका विषयमा बुझ्ने काम भइरहेको छ, हतियार बेचबिखनको सूचना पाएपछि टोली पुगेको थियो’, उनले भने । प्रहरीका अनुसार तामाङ यसअघि लुटपाटमा संलग्न भएको आरोप छ ।

प्रतिक्रिया