‘उच्च अदालतको आदेशमा गम्भीर त्रुटि’

काठमाडौं । उच्च अदालतका न्यायाधीशले सुन तस्करी मुद्दाको सुनुवाइका क्रममा गम्भीर त्रुटि गरेको भेटिएको छ । उनीहरूले प्रमाण परीक्षणका विषयमा गम्भीर त्रुटि भएको भेटिएकाले मुख्यसहित ६ न्यायाधीशलाई तानिएको न्याय परिषद् स्रोतले जानकारी दिएको छ ।

उनीहरूले एकै प्रकारको मुद्दा फरक–फरक इजलासमा बाँडेर हेरेपछि त्यसमा केही कैफियत हुन सक्ने आशंका पहिलादेखि नै थियो । तर, जब आदेशहरू हेरियो त्यसमा गम्भीर त्रुटि देखिएपछि उनीहरूलाई पहिलो कारबाहीस्वरूप तानिएको परिषद् स्रोतको भनाइ छ ।

‘एउटै मुद्दा एकमुष्ट रूपमा हेरिनुपर्नेमा किन फरक–फरक इजलासमा बाँडियो भन्ने प्रश्न त छ नै,’ न्याय परिषद् स्रोतले भन्यो, ‘कतिपय निवेदन व्यवस्थापनका क्रममा प्रमाण परीक्षणका आधारभूत सिद्धान्तसमेत उल्लंघन गरिएको छ ।’

न्यायाधीशअनुसार आदेश आएको र थुनामै राखेर मुद्दाको सुनुवाइ हुनुपर्ने कतिपय आरोपितलाई छाडिए पनि त्यसमा पर्याप्त आधार र कारण नभेटिएको स्रोतको भनाइ छ । न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित न्यायाधीशहरू उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीलाई काठमाडौं तानिसकेको छ ।

एउटै माग दाबी गरिएको मुद्दा नफुटाउने (बेग्लाबेग्लै नहेर्ने) माग सहितका २२ बुँदे सुझाव कानुन व्यवसायीले उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश भुर्तेललाई बुझाएका थिए ।

प्रतिक्रिया