‘सोसियल मिडिया अवार्डमा १२ विधा

काठमाडौं । ड्रिम वल्र्ड फिल्म मेकर्स प्रालिको आयोजनामा २७ माघमा ‘सोसियल मिडिया फिल्म अवार्ड–२०१८’ हुने भएको छ ।  आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाका अनुसार यो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिने भएको छ । ती १२ विधाकै उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक गरिएको छ ।

अवार्डका लागि प्राप्त सर्ट फिल्म, वृत्तचित्र, न्युज भिडियो, फेसबुक भिडियो र युट्युब भिडियोबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको अध्यक्ष मुखियाले जानकारी दिइन् । अवार्डका लागि यी विधाका ७५ ओटा भिडियो प्राप्त भएको कार्यक्रम संयोजक रविन आचार्यले जानकारी दिए । सम्पादक करुण थापा, सञ्चारकर्मी केपी ढुंगाना र सिनेकर्मी एवं सञ्चारकर्मी संगीता श्रेष्ठको निर्णायक टिमले ७५ ओटा भिडियो हेरेर उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।

जसमध्ये सर्ट फिल्ममा ६ ओटा विधाको मनोनयन सार्वजनिक गरिएको छ । यसमा उत्कृष्ट सर्ट फिल्म, उत्कृट सर्ट फिल्म निर्देशक, उत्कृष्ट सर्ट फिल्म सम्पादक, उत्कृष्ट सर्ट फिल्म छायांकार, उत्कृष्ट सर्ट फिल्म ध्वनी, उत्कृष्ट सर्ट फिल्म अभिनेता र उत्कृष्ट सर्ट फिल्म अभिनेत्री रहेका छन् ।

यस्तै, कार्यक्रममा अन्य ६ विधामा उत्कृष्ट ट्रोल, उत्कृष्ट न्युज भिडियो, उत्कृष्ट फेसबुक भिडियो, उत्कृष्ट युट्युब भिडियो र उत्कृष्ट वृत्तचित्रको पनि मनोनयन सूची सार्वजनिक गरिएको छ ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले सामाजिक सञ्जालमा आउने यस्ता भिडियोहरू पनि उत्कृष्ट र सन्देशमूलक हुनुपर्छ भन्नेबारे यो अवार्डले प्रोत्साहन गर्ने बताए । चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले एउटा नयाँ अवधारणामा सवनम मुखियाले अवार्ड गर्न लागेकाले बोर्डका तर्फबाट आफूहरूले सघाउने बताए ।

जुरीका सदस्य केपी ढुंगानाले निकै उत्कृष्ट भिडियोहरू अवार्डका लागि प्राप्त भएको र त्यसबाट आफूहरूले अझ राम्रा छानेर मनोनयन सार्वजनिक गरेको जानकारी दिए । ड्रिम वल्र्ड अध्यक्ष मुखियाले सामाजिक सञ्जालमा आउने गरेको फिल्म तथा भिडियोहरूको प्रवर्धनका लागि सोसियल मिडिया फिल्म अवार्ड गर्न लागेको बताइन् ।

प्रतिक्रिया