छाउपडी विरुद्ध महिला !

महिनावारी भएको समयमा छाउगोठमा रात बिताउँदै आएका बझाङका दुर्गम गाउँका महिलाहरू आजकाल खुलेर छाउपडी प्रथाको विरोध गर्न थालेका छन् । छाउपडीमाथि गरिने विभेद जिल्लामा अझै व्याप्त रहेता पनि यतिखेर भने जिल्लाको छविसपाथीभेरा, दुर्गाथली र तलकोट गाउँपालिकाका महिलाहरू छाउपडी कु–प्रथाको विरुद्धमा जुट्न थालेका छन् ।

छाउपडी कु–प्रथाविरुद्ध महिला संगठित हुन थालेपछि हिजोआज बझाङका दुर्गम गाउँका महिलाहरू साहसपूर्वक महिनाबारी भएको समयमा घरभित्र बस्न थालेका छन् । जिल्लामा सदियौँदेखि रहेको छाउपडी कुप्रथाको अन्धविश्वास तोड्न साहस गर्दै महिलाहरू छाउगोठहरू भत्काउँदै साविकजस्तै खाना खाने र घरभित्रै बस्न थालेको दुर्गाथली गाउँपालिका–७ की दुर्गा जप्रेलले बताइन् ।

एक पछि अर्काे गर्दै महिलाहरूले घरभित्र बस्ने र साविकको झैँ खाना खान थालेपछि अहिले बझाङको छबिसपाथिभेरा गाउँका अधिकांश महिलाहरूले छाउपडी बार्न छोडेका छन् । महिनाबारी हुँदा घर नजिक आउनु हुँदैन, पानीका धारा छुनु हुँदैन, देउता रिसाएर अनिष्ट हुन्छ भन्ने मान्यता रहेको बझाङमा आजकाल छाउपडी प्रथा अन्त्य गर्न यहाँका महिला संगठित भएका हुन् । यसरी महिलाहरू छाउपडी प्रथाविरुद्धमा संगठित भएपछि आजकाल महिनावारी हुँदा निकै सहज भएको दुर्गाथली गाउँका महिलाहरू बताउँछन् ।

महिनावारी हुँदा घरभित्र बस्ने ४७ जना र साविक जस्तै खाना पनि खाने अन्य पाँच जना तलकोट गाउँका महिलालाई जिल्लास्थित एक गैरसरकारी संस्थाले दोसल्ला ओढाई सम्मान गरेको छ । छाउपडी प्रथाको विरुद्धमा महिलाहरू संगठित भएपछि आजकाल महिनावारी हुँदा दही दूध लगायतका खानेकुरा खाने गरेको र घरभित्र बस्ने कार्यको सुरुआत भएसँगै यहाँका महिलाहरूमा खुसीयाली छाएको छ ।

लामोसमय रुढीवादी परम्परा मान्दै दुःख खेपेकोमा निकै पछुतो लागेको तर ढिलै भए पनि महिनावारी हुँदा घरभित्र बस्न पाएकोमा खुसी लागेको दुर्गमका महिलाहरू बताउँछन् । अन्धविश्वासको रूपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि बझाङका दुर्गम गाउँमा अझै थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

प्रतिक्रिया