कैलालाीकाे गोदावरीमा खानेपानी आयोजनाका लागि बजेट

धनगढी । वर्षाैदेखि खानेपानी समस्याबाट ग्रस्त बनेको कैलालीको गोदावरी नगरपालिका ओलानीका विकट ग्रामीण समुदायमा खानेपानी आयोजना निर्माण गरिन लागेको छ ।

कैलालीको गोदावरी नगरपालिका ओलानी क्षेत्रमा मछेली खोलाको पानी सुक्दा बस्ती बिरानो भन्ने खोजमूलक समाचार प्रकाशित भएपछि त्यस क्षेत्रमा आयोजना निर्माणका लागि बजेट विनियोजन भई निर्माण कार्य सुरु गरिन लागेको हो ।

गोदावरी नगरपालिका–१०, ११ र १२ वडामा बसोवास गर्ने समुदायमा खानेपानी समस्या बढ्दै गएपछि सात करोड रुपैयाँको लागतमा २ लाख २५ हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिन लागेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी दिए । सो स्थानमा एउटा बोरिङ, कार्यालय भवन तथा कम्पाउन्ट वाल निर्माण गरिन लागेको डिभिजन प्रमुख कुँवरको भनाइ छ ।

बन्डेखोलामा सोलारको माध्यमबाट पानी घरघरमा पुर्याउन सोलार जडानको काम भइरहेको छ । गोदावरी नगरपालिकाका क्षेत्रका विकट ग्रामीण वस्तीमा बसोवास गर्ने नौ सय घरपरिवारलाई खानेपानी आपूर्ति गर्न खानेपानी आयोजनाहरूको निर्माण भइरहेको छ ।

चाक्लेखोलामा पाँच लाख रुपैयाँको लागतमा ओभरहेड ट्यांकी निर्माणको कामसमेत भइरहेको इन्जिनियर गणेश उपाध्यायले बताए । ८० प्रतिशत नेपाल सरकार तथा २० प्रतिशत जनश्रमदानबाट गोदावरी नगरपालिका ओलानी क्षेत्रमा खानेपानी आयोजना निर्माणको काम भइरहेको उपाध्यायले बताए ।

विद्युत्को समस्या भएका कारण सबै वस्तीमा खानेपानी पु¥याउन समस्या देखिएकाले बजेट पर्याप्त नभएको डिभिजन कार्यालयको भनाइ छ । पाइप विछ्याउने र ट्रान्सफर्मर जडानको काम पनि चालु आवभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ ।

गोदावरी क्षेत्रको ओलानीलगायत वस्तीमा १५ वर्षपछिको जनसंख्यालाई ध्यानमा राखी खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । प्रायः दलित वस्ती रहेको ओलानी (गोदावरी) मा खानेपानीको अभाव, सडक, विद्युत्लगायत समस्या रहेको स्थानीयले गुनासो गर्दै आएका छन् । सो समुदायमा हरेक घरपरिवारका कम्तिमा एक जना पुरुष कामका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेका छन् ।

यसै गरी कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीमा दुई करोडको लागतमा रोटरी क्लब अफ धनगढीको पहलमा रोटरी इन्टरनेसनल कोरोटरी फाउन्डेसनको सहयोगमा खानेपानी ट्यांकी निर्माणका लागि ठेक्का भई काम अघि बढेको छ । गोदावरी नगरपालिकास्थित ओलानीमा खानेपानीको चरम संकट निवारणका लागि रोटरी क्लबले २ लाख २५ हजार लिटरको खानेपानी ट्यांकी निर्माण गरिरहेको छ ।

सो खानेपानी योजनाले ओलानीका ६ सय घरपरिवारलाई फिल्टरसहितको धारा जडान गर्ने लक्ष्य लिएको छ । यसैगरी कैलाली–५ ‘क’ का प्रदेशसभाबाट निर्वाचित सांसद तथा सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले गोदावरी नगरपालिका–११ मा प्रदेश सरकारले दुई वटा डिप ट्युबेलमार्फत चालु आर्थिक वर्षमा खानेपानीका लागि बजेट विनियोजन गरेको बताए । गोदावरी नगरपालिका–१० मा भूमिगत सिँचाइ योजनाका लागि ५० लाख, गोदावरी नगरपालिका–१० विष्ट टोलमा भूमिगत सिँचाइ योजनाका लागि २५ लाख बजेट विनियोजन भएको मन्त्री सुवेदीको भनाइ छ ।

गोदावरी नगरपालिका–११, १० र ९ वडाका भागेश्वर, हलुडे, चापसल्ली लगायतका स्थानका लागि संघीय संसद्मार्फत खानेपानीका योजना निर्माणको पहल भइरहेको सुवेदीको भनाइ छ । गोदावरी नगरपालिकाका–४, ६, ७, १२, ११ र १० वडामा पानीको चरम अभाव देखिँदै आएको छ । खानेपानी तथा सिँचाइ अभावका कारण ओलानीबाट बसाइँ सर्ने क्रम देखिँदै आएको थियो ।

प्रतिक्रिया