छाडा चौपाया नियन्त्रणमा महानगर

पोखरा । पोखरा महानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न अभियान सुरु गरेको छ । पोखराका मुख्य बजार क्षेत्रका चोकहरूमा छाडा पशुचौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेपछि महानगरले छाडाचौपायाको व्यवस्थापन थालेको हो ।

महानगरले यसअघि बेवारिसे अवस्थामा बजारमा छाडिएका छाडा चौपायाको व्यवस्थापन गर्न वार्षिक ६ लाख दिने सर्तमा पोखरा–२० भलाममा रहेको दुग्ध सहकारी संस्थासँग सहमति गरेको थियो । तर, सहकारी र महानगपालिकाबीच भएको सहमतिअनुसार कार्य नभएपछि पुनः दास्रोपटक चौपाया व्यवस्थापनको काम सुरु गरेको हो ।

पर्यटकीय नगरी पोखराका मुख्यचोक लगायतका विभिन्न स्थानहरूमा यत्रतत्र भेटिने छाडा चौपायाहरूको व्यवस्थापनको काम फेरी सुरु गरिएको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए । उनका अनुसार बजार क्षेत्रमा ठूलो संख्यामा छाडा छाडिएका पशु चौपाया देखिन थालेपछि महानगरले त्यसको व्यवस्थापन गर्न लागेको हो ।

‘छाडा गाई र गोरुहरू बजार क्षेत्रमा बढ्न थालेसँगै दुर्घटनाको सम्भावनालाई मध्यनजर गर्दै त्यसको व्यवस्थापनका लागि महानगरले अभियान थालेको हो,’ सुवेदीले भने, ‘हामीले गाईगोरु व्यवस्थापन अभियान थालेको एक हप्ता भयो । यस समयावधिमा ८० भन्दा धेरै चौपाया नियन्त्रणमा लिइसकेका छौँ । यदि बजार क्षत्रमा कहीँ पनि चौपाया देखिए खबर गर्नोस् हामी तुरुन्तै नियन्त्रणमा लिन्छौँ’, उनले भने ।

बजार क्षेत्रबाट नियन्त्रणमा लिएका चौपायाहरू महानगरले फोहोर फाल्ने क्षेत्र (ल्यान्डफिल्ड साइड) मा लगेर राखेको उनले बताए । खुला क्षेत्र र नदीको नजिक भएकोले त्यहाँ लगेर राखिएको सुवेदीको भनाइ छ । महानगरपालिकाले अहिले पोखरा बजार क्षेत्रभित्रका चौपायाहरू पृथ्वीचोक नजिकै रहेको खाली ठाउँमा जम्मा गर्ने र संकलित भएका चौपायालाई ल्यान्डफिल्ड साइडको व्यवस्थापन गर्ने स्थानमा लग्ने गरेको छ ।

बजार क्षेत्रबाट महानगरले उठाएर व्यवस्थापन स्थल पु¥याइएका छाडा गाई कसैले पालनपोषणका लागि लैजान चाहेमा उसलाई प्रोत्साहन स्वरूप केही रकम पुरस्कारसमेत दिइने सुवेदीले जानकारी दिए । ‘हामीले सडकबाट उठाएर ल्याएका गाई पाल्नका लागि लैजान चाहनेलाई कागज गराएर दिन्छौँ’, उनले भने, ‘त्यसरी गाई लैजाने घर धनीले महानगरसँग कागजी प्रतिवद्धता गर्नुपर्नेछ ।’

सुवेदीका अनुसार सडकबाट ल्याएका गाई कसैले पाल्न लैजान चाहन्छ भने ‘गाईलाई छाडा छोड्दिनँ राम्रोसँग पाल्नेर उचित व्यवस्थापन गर्छु’ भन्ने कागज गरेर मात्र लैजाने व्यवस्था महानगरले गरेको छ ।

प्रतिक्रिया