‘सत्तासीन पार्टी विकास बाधक’

स्याङ्जा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टले कांग्रेसमाथि हमला गरेको आरोप लगाएका छन् । स्याङ्जाको वालिङमा आयोजित कार्यकर्तासँगको अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले कम्युनिस्ट सरकार विकाशको बाधक बनेकोसमेत आरोप लगाए ।

उनले पार्टी कार्यकर्तासँग बोल्दै कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्नसके बल्ल नेपाली कांग्रेस बलियो हुने बताएका छन् । नेपाली कांग्रेसको महासमिति बैठकपछि कार्यकर्तासँग अन्तरक्रिया गर्न स्याङ्जा आइपुगेका नेता पौडेललले पार्टीमा नेता तथा कार्यकर्ताको मूल्यांकन नहुँदा कमजोर बन्दै गएको बताएका हुन् ।

सत्तासीन पार्टीलाई लक्षित गर्दै नेता पौडेलले हात मिलाएर मात्र एकताको सन्देश नपैmलिने विचार व्यक्त गरे । उनले भने, ‘हात मिलाएर हुन्न, मन मिल्न आवश्यक छ ।’

उनले वामपन्थीको दुईतिहाइको दम्भसँग नडराई सबल प्रतिपक्षको भूमिका निर्वाह गर्न सबै कार्यकर्तालाई आग्रहसमेत गरे । नेता पौडेलले दुईतिहाई सरकारले गरेका निर्णयमा सबल प्रतिपक्षको भूमिका नेपाली कांग्रेसले निर्वाह गर्न नसके संघीयतासँगै राष्ट्र पनि खतरामा पर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य धनराज गुरुङले भष्ट्राचार गर्ने सरकारविरुद्ध संसद्मा कांग्रेसले आवाज उठाउन नसक्नु दुर्भाग्य रहेको बताए । ठूलाठूला भष्ट्राचारमा सरकारका मन्त्री नै संलग्न हुँदा पनि संसद्मा कांग्रेस मौन बस्न नहुने धारणा व्यक्त गरे । अन्तरक्रियामा स्याङ्जाका अगुवा कांग्रेसका कार्यकर्ताहरूले सभापति, वरिष्ठ नेता र महामन्त्रीले एकताको सन्देश लिएर जिल्लाजिल्लामा जान आग्रह गरेका थिए । समयमै केन्द्रीय महाधिवेसन गर्न पनि स्याङ्जाली कांग्रेस नेता कार्यकर्ताहरूको माग रहेको थियो ।

कार्यक्रममा संविधानसभाका सदस्य मोहन पाण्डे, राजु थापा, पूर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, प्रजातन्त्र सेनानी सूर्यप्रसाद रेग्मी लगायतले हरेक अगुवा कार्यकर्ताहरू अब गाउँगाउँ जानुपर्ने धारणासहित पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया