श्रीस्वस्थानी व्रतकथा आजदेखि

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि सुरु हुँदै छ ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आइतवार बेलुकी माधवनारायणका पूजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए ।

पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन । आइतवार बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्याह्नकालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

व्रतालु माघ शुक्ल पूर्णिमासम्म यहीँ बस्नुपर्ने व्रतविधि छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताए ।

स्वस्थानीको महिमा

राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शंकरापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटृै श्रीस्वस्थानीको पूजा–आराधना गरी व्रत बस्छन्न् । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

देवीदेवताका लीलाका प्रसंग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेका थिए ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । एकतीस अध्याय रहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ । श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

राजधानीको मखनटोलस्थित तारिणीबहालभित्र पनि श्रीस्वस्थानीको मन्दिर छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ । स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिनाका साथै सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

परम्परादेखि नै स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महीनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।

शालिनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय दिलीप श्रेष्ठले बताए । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ । ‘मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतवन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो,’ उनले भने ।

मेला मूलआयोजक समितिका अनुसार यहाँ भक्तजनको सुविधा तथा शान्ति सुरक्षाका लागि मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्वस्थित बनाउने तयारी भएको छ ।

मेलाको तयारी पूरा

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले शनिबार यहाँ पत्रकार सम्मेलन गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । माघ ७ गतेदेखि एक महीनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्य, लगायतका विषयमा सम्पूर्ण तयारी पूरा भएको मूलआयोजक समितिका अध्यक्ष्ग गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए ।

समितिले गएको वर्ष ३० लाख दर्शनार्थी सहभागी भएकामा वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको जनाएको छ । मेलामा राखिएका विभिन्न पसलबाट पसलहरूले जथाभावी पैसा लिने गरेकाले समितिले यसवर्ष बजार व्यवस्थापन तथा अनुगमनका लागि छुट्टै टोली बनाएको उनले जानकारी दिए ।

महानगरीय प्रहरी प्रभाग साँखुकी प्रहरी निरीक्षक लक्ष्मी खनालले मेलाका लागि ९० प्रहरी परिचाालन गरिने बताए । सुरक्षाका लागि प्रहरी ‘हेल्प डेक्स’ राखिने र ट्राफिकको उचित व्यवस्थापन पनि गरिने जानकारी दिइन् ।

महिनाभर शालीनदी अउने भक्तजनका लागि पाँच÷पाँच मिनेटमा साँखुबाट सहरका विभिन्न भागमा जाने सार्वजनिक यातायातको व्यवस्था गरिएको समितिले जनाएको छ ।

शंकरापुर नगरपालिका, इलाका प्रशासन कार्यालय, महानगरीय प्रहरी प्रभाग साँखु र समितिको संयुक्त बैठकले निर्माण सामग्री ओसार्ने ट्रक ट्रिपरलगायत मालबाहक सवारी साधनलाई बेलुकी पाँच बजेपछि मात्र साँखु क्षेत्रमा प्रवेश गर्न दिइने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

साँखुबाट रत्नपार्क, दक्षिणकाली, गोङ्गबु, चक्रपथ, सातदोबाटोसम्म सवारी सञ्चालन हुँदै आएको छ । मेलाभर थप सवारी साधनको व्यवस्था गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया