हाइड्रो एक्स्पो सम्पन्न, ६० हजारले अवलोकन गरे

काठमाडौं । भृकुटीमन्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सकिएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो । तीन दिनमा ६० हजार बढीले अवलोकन गरेको एक्स्पोले जलविद्युत् क्षेत्रका बारेमा विविध विधामा टेवा पुयाउने आयोजकले जनाएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा जारी एक्स्पोमा शुक्रबार १२ हजारले अवलोकन गरेका थिए । शनिबार २८ हजारले अवलोकन गरेको एक्स्पोको अन्तिम दिन २० हजार बढीले अवलोकन गरेका छन् ।

विशेष गरी जलविद्युत्सँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबो कम्पिटिसन, जलविद्युत्सँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ । एक्स्पोमा सहभागिहरूलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गराइएको छ । पहिलो संस्करणबाट दोस्रो संस्करणमा आई पुग्दा जलविद्युत् क्षेत्रसँग सम्बद्ध व्यक्ति तथा संस्थाको उल्लेख्य सहभागिताले आगामी दिनहरूमा एक्स्पोलाई अझै परिष्कृत रूपमा आयोजना गरिने एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्मिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको एक्स्पोमा दैनिक रूपमा विभिन्न सरकारी निकाय, सम्बद्ध पक्षका उच्च व्यक्तिहरूले अवलोकन गरेका थिए । यसै क्रममा आइतबार पूर्व उर्जामन्त्री राधा ज्ञवालीका साथै संघीय संसद्का सदस्यहरूले एक्स्पोको अवलोकन गरेका छन् । ८५ भन्दा बढी प्रदर्शकहरूले सय भन्दा बढी स्टलमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श उपलब्ध गराएका थिए । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो ।

एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्टस् सप्लायर, लगानीकर्ता, बैंक तथा बिमालगायत जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता थियो । विद्युत् उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एन्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत् क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य आकर्षण बनेका थिए ।

प्रतिक्रिया