प्रयोगमा आएन ‘घरवास’

दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयअन्तर्गत कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास कार्यक्रम (इसिमोड) को सहयोगमा नौगाड गाउँपालिका–३ खार दल्लखेमा निर्माण गरिएका घरवास प्रयोगविहीन भएका छन् । तीन वर्षअघि पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएका आठ वटा घरवासमध्ये हाल एउटा मात्रै प्रयोगमा छ । घरवास सञ्चालनको लागि चाहिने पर्याप्त आर्थिक स्रोत नहुनु, तालिम र सीपको कमीका कारण निर्माण गरिएका घरवास बन्द अवस्थामा रहेका अपी नाम्पा संरक्षण क्षेत्रअन्तर्गत खार उपभोक्ता समितिका अध्यक्ष मानसिंह मन्यालले जानकारी दिए ।

‘घरवास निर्माण गर्ने व्यक्तिमा पनि सञ्चालन गर्ने इच्छा देखिएन’, अध्यक्ष मन्यालले भने, ‘कार्यालयले पनि एकपटक सहयोग गरेपछि पुर्नताजगी नगर्दा स्थापना भएका घरवास प्रयोगविहीन भएका छन् ।’ अहिले खारको चौरीगाउँमा स्थापना गरिएको हिमालय घरवास मात्रै सञ्चालनमा छ । कहिलेकाही विदेशी पर्यटक तथा आन्तरिक पर्यटक आउँदा घरवाससम्म पुग्ने गरेका छन् । घरवास सञ्चालक मथुरा मन्यालसँगै तालिम लिएर सुरु गरेका अन्य घरवास बन्द छन् । निर्माण गरिएका घरवास प्रचारप्रसार र प्रवद्र्धन नगरिदिँदा आफू समस्यामा परेको मन्यालले बताइन् । ‘एकपटकलाई सामान दिइयो, त्यसपछि कुनै सहयोग पाएका छैनौँ’, उनले भनिन्, ‘पर्यटकीय क्षेत्र दल्लेख खारमा घरवास छ भन्ने कुरा बाहिर प्रचारप्रसार गरी दिए पनि सहयोग हुन्थ्यो ।’ अधिकांशले सुरुमा घरवास निर्माण गर्ने भन्दै सहयोग लिए पनि पछिल्लो समय अन्य काममा लागेपछि घरवास बन्द भएका छन् ।

अर्का घरवास सञ्चालक जोगेनी डोबालले पछिल्लो समय कुनै निकायबाट घरवाससम्बन्धी तालिम सहयोग नपाएकोले पनि अघि बढाउन नसकिएको बताए । ‘हाम्रोतिर बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटक ल्याउन सके सहयोग हुन्थ्यो’, उनले भने, ‘तर कसैको सहयोग नहुँदा बन्द गर्नुपर्ने वेला आएको छ ।’ सुरुका वर्षमा कैलाश भू–परिधि कार्यक्रमको कारण पनि केही विदेशी पर्यटक आएर घरवासमा बस्दा चलेको घरवास सञ्चालक मानसिंह डोबालले बताए । अहिले कोही नआउने भएपछि बन्द गरिएको उनले जानकारी दिए ।

सदरमुकाम खलंगाबाट छोटो दूरीमा पर्ने खार चिसो र हिमाली ठाउँमा पर्छ । खारबाटै अपी हिमाल लगायतका उच्च हिमशंखला देख्न पाइन्छ । पर्यटन प्रवद्र्धन र आन्तरिक पर्यटक लोभ्याउन लालीगुराँस, स्थानीय उद्योग तथा खानाका परिकारका लागि खार प्रख्यात भए पनि प्रचारप्रसारमा ल्याउन नसकिएको स्थानीयवासी बताउँछन् । अपी नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले पछिल्लो समय कार्यालयको तर्फबाट घरवास प्रवद्र्धन र निर्माणको लागि कुनै योजना कार्यक्रम नरहेको बताए ।

चार वर्षमा ६४ पर्यटक
दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रमा चार वर्षको अवधिमा ६४ मात्र विदेशी पर्यटक भित्रिएका छन् । संरक्षण क्षेत्रभित्र घुम्न आउने पर्यटकमा सार्क मुलुकबाहिरका छन् । अपी नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेका अनुसार विसं ०७२ देखि ०७५ पुसमसान्तसम्म संरक्षण क्षेत्रभित्र ३५ पुरुष र २९ महिला विदेशी पर्यटक घुम्न आएका हुन् ।

कार्यालयका अनुसार विगतको तुलनामा यसवर्ष पर्यटक बढी आएका छन् । वैशाखयता मात्रै संरक्षण क्षेत्रभित्र २० महिला र १६ पुरुष गरी ३६ पर्यटक अपी नाम्पा संरक्षण क्षेत्रमा प्रवेश गरेको तथ्यांक छ । सो संरक्षण क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकमध्ये ०७२ सालमा १२ पुरुष र सात महिला गरी १९, ०७३ सालमा पाँच पुरुष र दुई महिला गरी सात जना तथा ०७४ मा दुई जना मात्रै पुरुष विदेशी पर्यटक घुम्न आएको कार्यालयको तथ्यांक छ ।

संरक्षण क्षेत्रभित्र सुदूरपश्चिमकै अग्लो अपी हिमाल ७ हजार १ सय ३२ मिटर, नाम्पा हिमाल ६ हजार ७ सय ५७ मिटर र व्यास हिमाल ६ हजार ६ सय ७० मिटर उचाइका छन् भने यो बाहेक कापुचुली, जेठी बहुरानी, लगायतका उच्च हिमशृखंला छन् । संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाव्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्बासो, लंगुर, थार, लगायतका २५ प्रकारका स्तनधारी वन्जयन्तु संरक्षण क्षेत्रभित्र पाइने गरेको सहायक संरक्षण अधिकृत घिमिरेले जानकारी दिए । यस्तै, सो क्षेत्रमा पाइने डाँफे, मुनाल, चीर, चिल, च्याखुरालगायतका २ सय ४३ प्रजातिका चरा पाइने गरेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया