प्रदर्शनीमा २ रुपैयाँको पुस्तक

अस्मिता खड्का, काठमाडौं । नेपालमा पठनसंस्क[तिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीका आयोजना गरिएको छ । बढ्दो प्रविधिसँगै पठन संस्कृतिप्रति देखिएको अरुचिलाई कम गर्ने लक्ष्यका साथ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

यसैबीच प्रतिष्ठान परिसरमा जारी पुस्तक प्रदर्शनीमा २ रुपैयाँको पुस्तकमा दर्शक तथा पाठकले खोजीनीति गरेका छन् । आजकल दुई रुपैयाँको खासै अर्थ नहुने वेला पुस्तक मेलामा राखिएको उक्त पुस्तकमा दर्शकको भीड लागेको छ । ०३६ सालमा प्रकाशन भएको ‘ममता’ नामको उक्त खण्डकाव्यको मूल्य २ रुपैयाँ रहेको छ ।

१४ सय मूल्यसम्मका पुस्तक राखिएको मेलामा ४ हजारभन्दा बढीले अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । प्रज्ञा प्रतिष्ठानले पृथ्वीनारायण शाहको २१६औँ जन्मजयन्तीको अवसरमा उक्त प्रदर्शनीको आयोजना गरेको हो । २९ पुसदेखि जारी प्रदर्शनीमा धार्मिक, सामाजिक, सांस्कृृतिक, इतिहास, दर्शनशास्त्र, भाषा तथा साहित्यसम्बन्धी विभिन्न पुस्तक राखिएका छन् ।

१४ माघसम्म रहने प्रदर्शनीमा विभिन्न स्वदेशी तथा विदेशी लेखकका कृति अंग्रेजी र नेपाली भाषामा अनुवाद गरी राखिएको प्रतिष्ठानले जनाएको छ । पुस्तक खरिद गर्दा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । जसमा प्रज्ञा प्रतिष्ठानमार्फत ०६७ सालसम्म प्रकाशित भएका पुस्तक ६० प्रतिशत छुटमा बिक्री गरिएको छ । यस्तै, ०६८ देखि ०७५ सम्म प्रकाशित सबै पुस्तकलाई १५ देखि ४० प्रतिशत छुट दिइएको छ ।

त्यस्तै, प्रदर्शनीमा तीन, चार, पाँच रुपैयाँ पर्ने अन्य थुप्रै पुस्तकसमेत छन् । सबैभन्दा बढी बिक्री हुनेमा जन्म तथा मृत्युसंस्कारसम्बन्धी कृति रहेको जनाइएको छ ।
विगतका वर्षभन्दा यो वर्ष पाठकको संख्यामा वृद्धि भएको र हालसम्म ३ लाखका पुस्तक बिक्री भइसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया