ट्रम्पको नयाँ प्रस्ताव अस्वीकार्यः डेमोक्र्याट्स

वासिगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कंग्रे्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गरेका छन् । तर, उक्त प्रस्तावलाई विपक्षी डेमोक्र्याट पार्टीले ठाडै अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्र्याट पार्टीबीच मेक्सिको सीमामा पर्खाल निर्माणको बजेटलाई लिएर सहमति नबनेका कारण अमेरिकी संघीय कार्यालयहरू आंशिक बन्द भएको २९ दिन भइसकेको छ । र, विवाद तत्कालै सुल्झिने कुनै संकेत नदेखिएका कारण संघीय कार्यालयहरू अझ लामो समयसम्म बन्द हुने सम्भावना बढेको छ ।

ह्वाइट हाउसबाट गरिएको टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले खासगरी दुई किसिमका आप्रवासीलाई तत्काल स्वदेश नफर्काइने प्रस्ताव गरेका थिए । पहिलो श्रेणीमा संयुक्तराज्य अमेरिकामा गैरकानुनी रूपमा बसोवास गरिएका मानिसका करिब सात लाख बालबालिका रहेका छन् । यी बालबालिकाप्रति डेमोक्र्याट पार्टीले आवाज उठाउँदै आएको छ । साथै, संरक्षित व्यक्तिको सूचीमा परेका तर म्याद गुज्रेका करिब तीन लाख आप्रवासी दोस्रो श्रेणीमा रहेका छन् ।

राष्ट्रपति ट्रम्पले यी सबै अर्थात् करिब १० लाख आप्रवासीलाई तत्कालै स्वदेश नफर्काउने बताएका छन् । राष्ट्रपति ट्रम्पले यी छुटहरूले अमेरिकी आप्रवासन नीतिमा सुधारका लागि परस्पर विश्वास निर्माण गर्न सघाउने बताएका छन् ।

यसको बदलामा, ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्न कंग्रेस समक्ष करिब ६ अर्ब अमेरिकी डलर पारित गर्न तयार हुनुपर्ने अडान राखेका छन् । तर, विपक्षी डेमोक्र्याट पार्टीले पटकपटक उक्त प्रस्ताव अस्वीकार गरिआएका छन् ।

राष्ट्रपतिले आपतकालीन मानवीय सहायताका लागि ८० करोड अमेरिकी डलर र सीमा सुरक्षा कार्यालयमा लागुऔषध पत्ता लगाउने अत्याधुनिक उपकरण जडान गर्न ८० करोड ५० लाख डलर पनि माग गरेका छन् ।

डेमोक्र्याटले भने राष्ट्रपतिको प्रस्तावलाई अस्वीकार गरेको छ । राष्ट्रपतिले सन्देश सार्वजनिक गर्नुअघि नै ह्वाइट हाउसबाट उक्त सन्देश बाहिर आएको थियो । ‘उहाँको प्रस्ताव पहिल्यै अस्वीकृत कार्यक्रमहरूको संगालो मात्र हो, र यी प्रत्येक प्रस्ताव अस्वीकार्य छन्,’ डेमोक्र्याटिक पार्टीकी नेतृ एवं सभामुख न्यान्सी पेलोसीले बताइन् । ‘यी प्रस्तावको केही अर्थ छैन ।’

अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले आप्रवासीका सम्बन्धमा राष्ट्रपतिले पहिल्यै ठूलो भूल गरिसकेको सन्दर्भमा अहिलेको प्रस्ताव पनि देखावटी मात्र हो भने । सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले भने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्वागतयोग्य रहेको बताए । उनले भने, ‘यो प्रस्ताव सरकारी कार्यालयहरू खोल्न, सीमाको सुरक्षा गर्न र हालका आप्रवासी मुद्दाहरूलाई सम्बोधन गर्नेतर्फ राजनीतिक सहमति जुटाउन महत्वपूर्ण छन् ।’

प्रतिक्रिया