लिभरपुलको अग्रता यथावत

एजेन्सी, लन्डन । मोहम्मद सालाहको दुई गोलप्रेरित लिभरपुलले शनिबार नाटकीय खेलमा क्रिस्टल प्यालेसमाथि ४–३ को जित निकाल्दै प्रिमियर लिग शीर्ष स्थानको अग्रता ७ अंकमा पु¥याएको छ । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा सुखद नतिजा ल्याउन लिभरपुलका सालाहले दुई गोलबाहेक रोबर्टो फिर्मिनो र साडियो मानेले समान एक गोल गरेका थिए ।

प्यालेसविरुद्ध सुखद नतिजा निकालेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफूले राहतको सास फेरेको प्रतिक्रिया दिएका थिए । ‘यो ठूलो राहत हो । हामीलाई यो खेल कठिन हुन्छ भन्ने थाहा थियो,’ क्लोपले भने, ‘प्यालेसले विगतदेखि नै हामीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । १–० ले पछि परे पनि टोलीले स्वाभाविक खेल खेल्न छोडेन । परिणामस्वरूप हामी खेलमा पुनरागमन गर्दै जित हात पार्न सफल भयौं ।’ ‘सालाह विश्वस्तरीय खेलाडी हुन्,’ क्लोपले सालाहको प्रशंसा गर्दै भने ।

२३ खेलको समाप्तीमा ६० अंक जोडेको टोली शीर्ष स्थानमा यथावत् छ । एक खेल कम खेल्दै ५३ अंकका साथ म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । ४८ अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा छ भने २३ खेलमा क्रमशः ४७ र ४४ अंक जोडेका चेल्सी र आर्सनल चौथो र पाँचौं स्थानमा छन् ।

‘हामीले दोस्रो हाफमा खेलको नतिजा आफ्नो पक्षमा पार्यौं,’ क्लोपले थपे, ‘हामीले ६० अंक जोडिसकेका छांै र यो ठूलै उपलब्धि हो ।’ २०१७ को अप्रिलमा लिभरपुललाई एन्फिल्डमा हारको स्वाद चखाएको प्यालेसले ३४औं मिनेटमा एन्ड्रोस टाउनसेन्डले गरेको गोलमा अग्रता लिएको थियो ।

मध्यान्तरलगत्तै लिभरपुल खेलमा फर्किएको थियो । सिजनको १८औं गोल पूरा गर्ने क्रममा सालाहले भार्जिल भान डिजेकको पासलाई जाली चुमाएका थिए । त्यसको ७ मिनेटपछि नै फिर्मिनोको गोलमा घरेलु टोलीले पुनः अग्रता बढाएको थियो । ६५औं मिनेटमा जेम्स टम्सकिनले गोल गर्दै प्यालेसलाई खेलमा फर्काएका थिए ।

त्यसको १० मिनेटपछि सालाहले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै लिभरपुलको अग्रता बढाएका थिए । ८९औँ मिनेटमा जेम्स मिल्नर दोस्रो पहेँलो कार्डको दर्शन गर्दै बाहिरिएपछि लिभरपुलले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो ।

खेलको अन्तिम मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता ४–२ मा पु¥याएका थिए । इन्जुरी समयको पाँचौँ मिनेटमा म्याक्स मेयरले गोल गर्दै प्यालेसलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।

शनिबारै भएको खेलमा आर्सनलले चेल्सीमाथि २–० को जित हात पारेसँगै प्रिमियर लिगको शीर्ष ४ को दौडसमेत खुला बनेको छ । चौथो स्थानको चेल्सी र पाँचौँ स्थानको आर्सनलबीचको अन्तर मात्र ४ अंकको छ ।

आर्सनलको जितमा एलेक्जेडर लाकाजेट् र लोरेन्ट कोस्चिल्नेले समान एक गोल गरेका थिए । यता म्यानचेस्टर युनाइटेडले अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजायरको प्रशिक्षणमा उत्कृष्ट लयलाई निरन्तरता दिने क्रममा ब्राइटनलाई २–१ ले निराश पारेको छ । सोल्सजायरको आगमनपछि युनाइटेडले हात पारेको यो लगातार सातौं जित हो ।

२७औं मिनेटमा पाउल पोग्बाले पेनाल्टीलाई सदुपयोग गरेसँगै युनाइटेडले अग्रता लिएको थियो । मध्यान्तर हुन ३ मिनेट बाँकी हुँदा मार्कुस रसफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । ७२औं मिनेटमा पास्कल ग्रोसले गरेको गोलमा ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।

प्रिमियर लिगअन्तर्गत शनिबार भएका अन्य खेलमा उल्भरह्याम्पटनले लेस्टर सिटीलाई ४–३ ले निराश पार्दा बर्नमाउथले वेस्ट ह्यामलाई २–० ले हरायो । त्यस्तै न्युक्यासल युनाइटेडले कार्डिफ सिटीलाई ३–०, साउथह्याम्पटनले एभर्टनलाई २–१ ले हराए ।

प्रतिक्रिया