एपिएफलाई स्तब्ध पार्दै आर्मी सेमिफाइनलमा

बारा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । सिमरा रंगशालामा भएको खेलमा आर्मीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । आर्मीलाई जित दिलाउन टंक बस्नेतले दुई गोल गरे । यस्तै दीपक गुरुङ र सुदिल राईले एक एक गोल गर्न सफल भए । एपिएफका राजन गुरुङ र आशिष लामाले एक एक गोल गरे ।

सिमरा रंगशालामा खेलको ३१ औँ मिनेटमा राजनको गोलबाट एपीएफले सुरुवाती अग्रता बनाएको थियो । खेलको ४३ औ मिनेटमा आर्मीका टंकले गोल गर्दै खेलमा १–१ को बराबरीमा गर्न सफल भएका थिए । तर ४७ औ मिनेटमा आशिषले गोल गर्दै एपीएफले पुनः २–१ को अग्रता दिलाए । दोस्रो हाफमा आर्मीले आक्रमक खेल खेल्दै एपीएफलाई दाबाबमा राख्न सफल भयो र एकतर्फी खेल खेल्दै जित निकाल्यो । ७३ औ मिनेटमा आर्मीका दिपकले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८६ औ मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–२ को जित दिलाए ।

अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक नव जन जागृति क्लब र मकवानपुर–११ बीचको विजेतासंग खेल्नेछ । नव जनजागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ । खेलमा आर्मीका दीपक गुरुङ म्यान अफ दी म्याच चुनिए । उनले १० हजार नगद प्राप्त गरे । भोली सोमबार नेपाल प्रहरीको नेपाल पुलिस ल्कव र हिमालयन सेर्पा वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया