सुआहाराकाे पोषिलो खाना

सल्यान । जिल्लाका विभिन्न ४ सय २३ स्थानमा पोषिलो खाना प्रदर्शनी गरिएको छ । जिल्लामा पोषणको क्षेत्रमा काम गरिरहेको सुआहाराले सुआहारा दोस्रो कार्यक्रमले गरेका उपलव्धीबारे जानकारी दिँदै यस्तो बताएको हो । सुआहाराले जिल्लाका साविकको गाविसका सवै ४ सय २३ वडामा पोषिलो खाना प्रदर्शनी गरेको बताएको हो ।

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा सुआहारा दोस्रो कार्यक्रमको अनुगमन, मूल्यांकन र अनुसन्धानको नतिजा सार्वजनिक कार्यक्रममा सुआहारा सल्यानका जिल्ला कार्यक्रम संयोजक हरि घिमिरेले यस्तो जानकारी दिएका हुन् । पोषिलो खाना प्रदर्शनीले स्थानीयस्तरमा रहेका सुनौलो एक हजार दिनका आमाले पोषिलो खाना बनाउने र खुवाउने सीपमा वृद्धि गरेको बताए ।

‘साना नानीहरूका लागि पोषिलो खाना अति नै जरुरी छ’, उनले भने, ‘लिटो, जाउलो, फर्सीको खिरजस्ता खाना बनाएर खुवाउन सिकाउँछौँ ।’ पोषिलो खाना प्रदर्शनीका कारण खाना पकाउने र खुवाउने व्यवहारमा परिर्वतन आएको उनले बताए । ‘हामीले पोषिलो खाना प्रदर्शनीमा स्थानीय उत्पादनलाई जोड दिन सिकाएका छौँ’, उनले भने, ‘ग्रामीण स्तरमा रहेका आर्थिक अवस्था कमजोर भएका घर परिवारको पोषणस्तर सुधार गर्न स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।’

जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित विकास समाज डिडिएस सल्यानसँगको साझेदारीमा सञ्चालित सुआहारा र पहल कार्यक्रमले गत आर्थिक वर्षमा गरेका कामको प्रगति समीक्षा र आगामी वर्षको योजनाका बारेमा जानकारी गराइएको थियो ।

सुआहाराले दोस्रो वर्षमा हासिल गरिएका उपलब्धीबारे जानकारी गराउँदै सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जिल्लामा सामुदायिक नक्सांकनमार्फत ५ हजार ३ सय ७ घरधुरीमा पुगी तथ्यांक संकलन तथा सामान्य परामर्श गरेको बताए ।

१ हजार २ सय ४२ पटक विभिन्न आमा समूहमा सहभागी भई हजार दिन भित्रका महिला तथा आमाहरूलाई पोषण, स्वास्थ्य र सरसफाइसम्बन्धी परामर्श दिएको, १ हजार ५ सय ८९ जना सुनौलो १ हजार दिनका आमाहरूसँग प्रत्यक्ष भेटेर जीवनका महत्वपूर्ण अवसरहरू मनाउने कार्य सम्पन्न गरेको उनले बताए ।

यस्तै पहल कार्यक्रमको गतवर्ष गरेको कामको मुख्य उपलव्धि एवं सिकाइहरूका साथै आगामी वर्षको कार्यक्रमहरूको बारेमा पहल कार्यक्रमका संयोजक धुव्र सुनारले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण गर्दै संस्थाका कार्यकारी निर्देशक दुर्गा पुनले नेपाल सरकारले ०७४ मंसिर ३ मा जारी गरेको बहुक्षेत्रीय पोषण योजना दोस्रो र यसमा व्यवस्था भएको पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको संरचान, काम, कर्तव्य र अधिकारको वारेमा जानकारी गराएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्टले पोषणमा सुधार ल्याउन सबै स्थानीय तहले योजना बनाएर काम गर्नुपर्ने बताए । बहुक्षेत्रीय पोषण योजनाका लागि संघसंस्थाले मात्र नभई स्थानीय तहले पनि कार्ययोजना बनाएर काम गर्नुपर्नेमा उनले जोड दिए ।

अहिलेको सापेक्षमा स्थानीय तहले सडक, बिजुली बत्ती, खानेपानीमा ठूलो लगानी गरिरहेको भन्दै उनले मानिसलाई सबैभन्दा बढी चाहिने भनेको शिक्षा र स्वास्थ्य हुने भएकाले पोषणका लागि पनि आगामी वर्षमा बजेट विनियोजन गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले मानिसको ८० प्रतिशत बौद्धिक वृद्धि र विकास दुई वर्षको उमेरभित्र नै हुने भएकाले अभिभावकहरूले यस अवस्थामा विशेष ख्याल गर्नुपर्ने बताए ।

प्रतिक्रिया