प्रधानमन्त्री स्विट्जरल्यान्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन स्विट्जरल्यान्डतर्फ प्रस्थान गरेका छन् । जनवरी २२ देखि २५ सम्म स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको सभामा सहभागी हुन उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्रीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे । सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

धानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी सहभागी छन् । विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने मञ्चको वार्षिक सभामा सहभागी हुने ओली नेपालका पहिलो प्रधानमन्त्री हुन् ।

विश्वभरका ३ हजार सरकारी तथा निजी क्षेत्रका नेता भेला हुने डाभोसमा प्रधानमन्त्री ओलीले २२ र २३ जनवरीमा हुने दुईवटा सत्रमा प्यानलिस्टका रूपमा सम्बोधन गर्नेछन् । पहिलो सत्र ‘दक्षिण एसियामा रणनीति दृष्टिकोण’ शीर्षकमा हुनेछ भने दोस्रो सत्र ‘प्रजातन्त्रको भविष्यको आकार निर्धारण’ रहेको छ ।

त्यस्तै, ‘हामीले अहिले देखेजस्तो विश्व व्यापारको अन्त्य’ शीर्षकको अनौपचारिक सभालाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यत्रम रहेको छ । त्यस सभामा विश्वका आर्थिक क्षेत्रका नेताहरू सहभागी हुनेछन् । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भियतनामलगायत मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग द्विपक्षीय वार्तासमेत गर्नेछन् । प्रधानमन्त्री ओली माघ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया