ठेकेदार नआएपछि अन्योलमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसी काममा नर्फिएपछि पुनः अन्योल सिर्जना भएको छ । क्रिसमस मनाउन इटाली गएको टोली एक महिनासम्म पनि नफर्किएपछि मेलम्ची खानेपानी विकास समितिले सम्झौता रद्दको प्रक्रिया सुरु गरेको हो ।

३ पुसमा काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रूपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । मेलम्ची आयोजनाका अनुसार सिएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ ।

यदि दुई हप्तासम्म पनि उसले सरकारलाई चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराउने आयोजनाका उपप्रमुख रामप्रसाद कँडेलले जानकारी दिए । एकपक्षीय रूपमा सम्झौता रद्द गर्न नपाइने भएपछि समितिले १४ दिने सूचना निकालेको छ । अबको १४ दिनभित्र सो कम्पनी काममा नफर्किए सम्झौता स्वतः रद्द हुनेछ ।

काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महिना निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिलाई सरकारले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय सुरुङ ‘फिनिसिङ’ काम अन्तिम चरणमा पुगेको थियो । यसबीचमा निर्माण व्यवसायी नै हिँडेपछि काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार कम्पनीले राखेको धरौटी जफत गरिएको छ । यसअघि, मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनीले सरकारले बैंक धरौटी रोक्का नगरोस् भन्दै उच्च अदालत पाटनमा दिएको रिटमा अदालतले पुस ५ मा अल्पकालीन आदेश र पुस १२ मा अन्तरिम आदेशमा दिनु नपर्ने फैसला सुनाएको थियो । अब सिएमसी काममा नफर्किए उसको अढाई अर्ब धरौटी पनि जफत हुनेछ ।

सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म २७.५ किमी सुरुङ निर्माण गरी मेलम्ची खोलाको पानी राजधानीमा ल्याउने अन्तिम समयमा एक महिनादेखि काम हुन सकेको छैन । सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । साढे आठ करोड लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको छ ।

पानी वितरणका लागि उपत्यकामा पहिलो चरणको थोक एवं वितरण सञ्जालको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया