नेपाल उपविजेतामा सीमित

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको उपाधि लक्ष्यमा एकपटक फेरि आयोजक थाइल्यान्ड बाधक बनेको छ । शनिबार वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिताको उपाधि भिडन्त तय गरेको नेपालका लागि शनिबार आयोजक नै बाधक बन्दै पाहुना टोली टोलीलाई ७० रनले स्तब्ध बनायो । नेपालले फाइनलमा भने ब्याटिङ र बलिङ दुवैमा निरासाजनक प्रदर्शन गरेपछि आयोजकले उपाधि घरमै सुरिक्षत गरेको थियो ।

शनिबार तेर्थाई क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले लयमा बलिङ गर्न नसक्दा थाइल्यान्डले निर्धारित २० ओभरमा १ विकेट मात्र गुमाउँदै १ सय २२ रनको मजबुद लक्ष्य प्रस्तुत गरेको थियो । थाइल्यान्डले एक विकेट पनि रनआउटमा गुमाएको थियो । थाइल्यान्डका तीन ब्याट्सम्यान नाताकन चान्तम, नारुइमोल चाइवाई र चानिदा सुथिरुआङले नै नेपाली बलिङलाई निरास पारे ।

चाईवाई २७ रन बनाएर आउट हुँदा नातकाकनले ६९ रन र चानिदाले १९ रनको नटआउट इनिङ खेल्दै नेपालसामू कठिन लक्ष्य प्रस्तुत गरेको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको नेपाल १७.२ ओभरमा ५१ रनमै अलआउट हुँदै आयोजकलाई नतिजा सुम्पियो । नेपालका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्दा नेरी थापाले १७ रन र सीता रानामगरले १३ रन बनाए ।

थाइल्यान्डको धारिलो बलिङसामु नेपालको ब्याटिङ टिक्नै सकेन । थाइल्यान्डका सुलिपोर्न लाओमीले ३ र सोर्नारिन टिपोचले दुई विकेट लिँदा नेपालको इनिङ ध्वस्त पारे । नाटया बोचाथम, चानिदा, ओनिछा र साइनामिन साइन्याले समान एक विकेट लिएपछि नेपालले फराकिलो हार बेहोरेको थियो ।

नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले पनि लगानीको हिसाबले नजिताप्रति सन्तुष्ट नै रहेको बताइन् । ‘ओभरलमा राम्रो खेल्यौं,’ कप्तान क्षेत्रीले भनिन्,‘ आजको खेलमा त्रुटि भए । जसको कारण उपाधिबाट वन्चित भयौं । तर पनि यो सफलताका कारण महिला क्रिकेटमा सरोकारवालाको ध्यान पुग्ने विश्वास लिएका छौं ।’ नेपाली महिला क्रिकेट टोली आइतबार नेपाल फर्किनेछन् ।

प्रतिक्रिया