सुमनले ल्याइन् ‘माइतीघरको फूल’

काठमाडौं । कवि सुमन थापाद्वारा लिखित ‘माइतीघरको फूल’ कवितासंग्रह सार्वजनिक भएको छ । प्राज्ञ एवं कथाकार माया ठकुरीले उक्त कृतिको विमोचन गर्दै महिलालाई जस्तो परिस्थिति आइपरे पनि लेखिरहनु पर्नेमा जोड दिइन् ।

कवि सुमनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आएका कविताहरूलाई संकलन गरेर उनका छोरीले संग्रहका रूपमा प्रकाशित गरिदिएका हुन् ।

कवि सुमनलाई थाहा नै नदिई उनको जन्मदिन पारेर उनका छोरीले विशेष उपहार स्वरूप उक्त कृति ल्याएकी हुन् । कवि सुमनलाई आफ्नो कवितासंग्रह विमोचन हुँदैछ भन्ने जानकारी नभएको बताइन् । कार्यक्रम सञ्चालकले कवि सुमनलाई मञ्चमा बोलाएपछि उनले आफ्ना आँसु थाम्न सकिनन् ।

कृतिमाथि टिप्पणी गर्दै तर्कना शर्माले कवितामा मातृवात्सल्य र ममताको विषय खदिलो रूपमा आएको बताइन् । उनले भनिन्, ‘जीवनबोध भएका कवि सुमनका कविता जीवनप्रति आशावादी जगाउने खालका छन् । साथै प्रेम, प्रकृति, नारी शक्ति, विकृत राजनीतिक अवस्था र विद्रोहको स्वर कविता सबल रूपमा आएको पाइन्छ । ’

समालोचक प्राडा गोविन्दमान सिंह कार्कीले कवितामा विषयगत विविधता रहेको बताउँदै भने, ‘बिम्बात्मक कविताले मान्छेलाई मान्छेजस्तो भएर जिउन उत्प्रेरित गरेको छ ।’

कार्यक्रममा कवि पवन आलोकले सुमनका कवितामा मातृप्रेम सघन रूपमा रूपमा आएको बताए । कवि विधान आचार्यले पारिवारिक विषयमा केन्द्रित भई लेखिएको संग्रह निकै रोचक रहेको सुनाए । उनले लेखकलाई हौसलाको खाँचो रहेको जिकिर गरे ।

त्यस्तै, कार्यक्रममा पुष्पा खनालले संस्थाका साहित्यिक गतिविधिका बारेमा जानकारी दिँदै कवि सुमनले नारी र मातृवासल्य भरिएका कविता लेखेको जिकिर गरिन् । उनले भनिन्, ‘समाज रूपान्तरणमा महिलाले शालिन तरिकाले काम गर्दै आएको पाइन्छ ।

यसमा कवि सुमनको शालिनता र मातृत्व निकै मर्मस्पर्शी छ ।’ कार्यक्रममा कवि गीता कार्की, रञ्जना निरौला, चेतनाथ कँडेल, गोकुल अधिकारी, ललिता दोषी, सुमन वर्षा, धुव्र मधिकर्मी, नन्दु उप्रेती, पुष्पराज लुईंटेल, सरिता अर्याल लगायतका कवि, लेखकको उपस्थिति थियो ।

प्रतिक्रिया