झण्डै ८६ करोडको माछामासु आयात

काठमाडौं । पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा आर्थिक वर्षको पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ ।

भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महिनामा करिब ८५ करोड ५६ लाख दुई हजारको हाडरहित मासु, माछा, घुंगी आयात भएको उल्लेख छ । फ्रान्स, इटली, नेदरल्यान्डस्, थाइल्यान्ड, चीन, अस्ट्रेलिया, नर्वे, भियतनाम, बंगलादेश, सिंगापुर, जापान, गरी १२ देशबाट अस्ट्रिच, टर्की, हाँस, बंगुर, भेडा कुखुरा, विभिन्न थरीका माछा, झिंगे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको हो ।

आयातित वस्तु यहाँ उत्पादन गर्न सकिन्छ । यद्यपि आयात गरिएको छ । आयात गरिएको घुंगी (शंखे किरा) सिमसार, घोल, जमेको पानी र दवदवे जमीनमा पाइन्छ । पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेको छ । आगोमा सिकाएको, सग्लो तर मरेको, (हिउँ) ले ढाकिएको र जिउँदो माछा आयात भएको हो । जिउँदो बाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकले नेपालमा निर्यात भन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ । ११ दशमलव २ प्रतिशत निर्यात हुँदा ३४ दशमलव शून्य दुई प्रतिशतले आयात बढेको छ । चालु आर्थिक वर्षको पाँच महीनामा कूल आयात रु ६ खर्ब ७ अर्ब छ भने निर्यात ३७ अर्ब ५० करोडमा सिमित हुन पुगेको छ ।

प्रतिक्रिया