गिट्टी अभावमा पुल निर्माण ठप्प

सङ्खुवासभा । जिल्लामा गिट्टीको अभाव हुँदा पुल निर्माण ठप्प बनेको छ । गिटी अभावमा खाँदबारी नगरपालिकामा पर्ने पांमा खोला र माल्टा खोलामा निमार्णधिन दुई पुलको निमार्ण कार्य ठप्प बनेको हो ।

जिल्लाको खाँदबारी नगरपालिकामा पर्ने सभाखोला रहेको क्रसर केही समय अगाडि वन कार्यालयले अवैध भन्दै बन्द गरेपछि हाल जिल्लामा गिट्टीको अभाव भएको हो । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका जोड्ने पांमा खोलामा निमार्णधिन रहेको पुल गिटि अभावमा हाल निमार्ण कार्य ठप्प बनेको छ । एसएनआरटिपिको सहयोगमा निमार्णधिन अवस्थामा रहेको पुलको अहिलेसम्म एउटापनि पिलरसमेत बनाइएको छैन ।

२ करोड २५ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरि याक्थुमहाङ एस.ए.एस. जेभि ले जिम्मा लिएको छ । आउँदो असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने भएपनि गिटी अभावमा पुल निर्धारित समयमा निमार्ण सम्पन्न हुन कठिनाइ परेको निमार्ण कम्पनीका निर्देशक सन्तोश राईले बताए । उनले भने, ‘हामिले यो पुल एक वर्षमा निर्माण सम्पन्न हुन्छ भनेको थियो, तर गिटीको अभावमा हामी पुल निर्माण सम्पन्न गर्न सक्दैनाैँ।’

यता, असार मसान्तमा निर्माण सम्पन्न गर्ने सहमति भएको माल्टाखोला पुलको पनि अवस्था उस्तै छ । पिलर हाल्नको लागि खाडि त खनिएको छ तर गिट्टी अभावमा डलान गर्न नसक्दा खनिएको खाडीमा पानी भरिएको छ । २ करोड ७१ लाखमा निमार्ण सक्ने सम्झौता भएको सो पुल निमार्णको जिम्मा कुन्सालिङ अरुण बरुण जेभिले लिएको छ ।

सो निमार्ण कम्पनीका निर्देशक मिगुर शेर्पाले भने, ‘हामिले एक वर्षमा सक्ने गरि पुलको जिम्मा लिएका थियौँ, तर यो सम्भव छैन, हामिले भनेजसरी काम गर्न सकेको छैनौ त्यसको कारण गिटी मात्रै हो ।’ उनले भने, ‘हामीले पटक– पटक सम्बन्धित निकायमा गिट्टी अभाव भयो भनेर पत्राचार गर्दासमेत हाम्रो माग पुरा भएन, गिट्टी अभावले हामी समयमा पुल निर्माण सक्दैनाैँ ।’

संखुवासभामा प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहले भारी मात्रामा विकास निमार्णका योजना ल्याएका छन् । तर ति सबै योजनाहरू गिट्टी अभावका कारण हाल निमार्ण कार्य ठप्प बनेको छ । नेकपाका नेता खड्ग राईले भने,‘हाल गिटीको अभाव प्रायः सबै योजनाहरू ठप्प छन्, त्यसको सबैभन्दा मारमा पांमा खोला र माल्टा खोला परेको छ ।’

उनले भने, ‘यदि केही दिन भित्रमा गिट्टीको व्यवस्था गर्न नसके कामदारहरूले काम छोडेर हिँड्ने अवस्था आएको भन्दै कामको जिम्मा लिने ठेकेदारहरू समेत निराश हुने अवस्था आउनेछ ।’

दुग्द्य उद्योग सञ्चालकसमेत रहेका राईले पुल निमार्ण नहुदा त्यसको प्रत्यक्ष असर किसानहरूलाई पनि परेको बताए । उनले भने, ‘जिल्लामा गिटी अभाव छ, त्यो अभावमा पुल बन्दैन र पुल नबनेपछि किसानहरूले दिएको दुध संकलन गर्न सकेका छैनौ, त्यसैले किसानहरूलाई समेत असर पुगेको छ ।’

गिटीको अभावमा जिल्लाको विकास निमार्णको काम प्रभावित बनेको नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष कुल वहादुर श्रेष्ठले बताए । उनले भने, ‘जिल्लामा गिट्टी उत्खनन् बन्द तथा क्रसर बन्द भएपछि पुल, सडक, सरकारी भवन र भूकम्प पीडितका घर पुनर्निर्माणमा समस्या छ ।’ श्रेष्ठले सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षक गरे पनि बेवास्ता गरिएको बताए ।

यता केहि समय अघि जिल्लामा बसेको सर्बदलिय बैठकले क्रसर चलाउन दिने निणर्य गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यका अनुसार जिल्लाको सर्वदलिय बैठकले क्रसर खोल्न दिने निणर्य गरेपनि जिल्ला वन कार्यालयलेसामुदायिक वन क्षेत्रमा क्रसर चलाउन नदिने भन्ने अडानले सञ्चालन नभएको हो । यसलाई पुन वैठक बसेर समस्याको समाधान खाज्ने उनले बताए ।

प्रतिक्रिया