प्रधानमन्त्री स्विजरल्यान्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वल्र्ड इकोनोमिक फोरमको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन स्विजरल्यान्ड जाँदैछन् ।

१९ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओलीले मंगलबार त्यहाँ स्टाटेजिक आउटलुक अन साउथ एसियाको प्यान डिस्कसनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

२२ जनवरीदेखि २५ सम्म स्विटरजरल्यान्डको डावोस सहरमा यसपटक ‘ग्लोबलाइजेसन ४.०ः सेपिङ ग्लोबल आर्किटेक्चर इन दी एज अफ फोर्थ इन्डस्ट्रियल रिभोलुसन’ नाराका साथ आयोजना हुने सम्मेलनमा जी–२० सहित विश्वका १५० बढी देशका राजनीतिक तथा आर्थिक नेताहरूको जमघट हुँदै छ ।

सम्मेलनको अर्को सत्र ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ मा प्रधानमन्त्री ओलीले जनवरी २३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, जनवरी २३ मै विश्वका आर्थिक नेताहरूको अनौपचारिक जमघटमा ‘इन्ड अफ ग्लोवल ट्रेड बक वी नो इट?’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भ्रमणका दौरान साइड लाइनमा विश्वका राजनीतिक तथा व्यवसायिक नेतृत्वहरूसँग भेट गर्ने मन्त्रालयले जनाएको छ । यद्यपि, त्यो भेट कुन स्तरको हो भन्ने मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकामा उल्लेख छैन ।

प्रधानमन्त्री ओलीसँग भ्रमण दलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडासहित प्रधानमन्त्री कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुनेछन् । प्रधानमन्त्री ओली माघ १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया