बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी

घोराही । बाघमारेकी ४ की २८ वर्षीय एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् ।

विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले ती व्यक्तिलाई फोन गरेर माल कहिले ल्याउँछस् भन्दै सोधेको र ल्याउँदै छु भनेर यताबाट जवाफ दिएको ती महिलाले सुनेपछि उनी भागेर घोराहीको महिला सेवा केन्द्रमा आइपुगिन् ।

 पति र बालबच्चा छाडेर हिँडेकी उनी अहिले घर न घाटको भइन् । उनलाई बेच्न लैजाने व्यक्ति भने अझै फरार छन् । बुटवलकी १८ वर्षीया एक युवती पनि घोराही १० नारायणपुरका एक व्यक्तिको मायाजालमा परेर विवाहसमेत गरिन् ।

घरमा श्रीमती छ भन्दै उक्त व्यक्तिले ती केटीलाई बेचबिखनका लागि कृष्णनगर हुँदै भारत लैजाँदै गर्दा माइती नेपालले पक्राउ गरी दाङ प्रहरीमार्फत जिल्लास्तरीय सेवा केन्द्रमा ल्याउन लाग्दा उक्त व्यक्ति फेला बेपत्ता भए भने उनी माइती नेपालको सम्पर्कमा गइन् ।

तुलसीपुर ४ का २२ र २३ वर्षका दुई युवती पनि विवाहको नाटक गरेर भारत बेचिदै गर्दा माइती नेपालको सहयोगमा दाङ फर्केको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । बङ्गलाचुली गाउँपालिकाकी २२ वर्षीया महिला र पञ्चकुलेकी १८ वर्षीया एक महिला पनि विवाह पछि भारतमा लगेर बेच्न लाग्दा भागेर सेवा केन्द्रमा आइपुगेका थिए ।

प्रतिक्रिया