हरिहरको ‘सहिदगेटकी आमा’

काठमाडौं । साहित्यकार, अनुवादक तथा साहित्यिक पत्रकार हरिहर खनालको नयाँ कथासंग्रह ‘सहिदगेटकी आमा’ बजारमा आएको छ । लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी पुस्तकालयमा आयोजित कार्यक्रममा माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’, माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईं, समालोचक प्राज्ञ प्राडा. गोपिन्द्र पौडेल तथा शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले उक्त कृतिको संयुक्त रूपमा विमोचन गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै किरणले कथा समसामयिक रहेको र पढ्नलायक रहेको जिकिर गरे । उनले पुस्तकमा प्रगतिशील र जीवनोपयोगी कथाहरूसमेत रहेको बताए । उनले भने, ‘समाजमा व्यक्तिवाद हाबी भइरहेका बेला कथामार्फत खनालले परिवर्तनका विषयलाई उठान गर्नुभएको छ ।’

कार्यक्रममा निनु चापागाईंले कथा संग्रहमा एकाध कथाहरू केही कमजोर भए पनि अन्य कथाहरू भने उत्कृष्ट र केही न केही सन्देश बोकेको बताए । उनले भने, ‘प्रगतिशील आन्दोलनलाई अगाडि बढाउन कथा संग्रहले सहयोग पु¥याउने आशा गर्न सकिन्छ ।’ प्राज्ञ प्राडा. गोपिन्द्र पौडेलले राणाकालदेखि आजसम्मको विषयवस्तु कथामा रहेको र समकालीन साहित्यमा चासो राख्ने सबैको लागि संग्रह रुचिकर रहेको बताए । कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार दिनानाथ शर्मा र राजनीतिज्ञ डा.सूर्यराज आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

रमेश शुभेच्छुले सञ्चालन गरेको कार्यक्रममा प्रकाशक पुष्पराज पौडेलले कथासंग्रहले नेपालको प्रगतिशील आन्दोलनलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । खनालको १३औँ कथाकृतिको रूपमा आएको यस संग्रहमा १४ वटा कथा समेटिएका छन् । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य २९९÷– रहेको छ ।

प्रतिक्रिया