लघुकथाः सरिताको लोग्ने

कृष्णदेव रिमाल

ऊ नियमित दाँत माझ्दैन । जाडोमा दुई तीन हप्तासम्म नुहाउँदैन । स्वास्नीले १५ पल्ट नसम्झाएसम्म दारी काट्दैन । बाहुला र कठालोमा तीनपत्र मयल जमेको लुगा लाएर समाजमा निस्किन्छ । बिहान आठ बजेसम्म घुसुल्टिन्छ । दिनभरी बागमतीको पुल वरिपरि बरालिन्छ । घर आउँदा अलिकति नचढाईकन कहिल्यै आउँदैन ।

हरेक साँझ सुत्नेबेला स्वास्नीको गाली खान्छ । भात जस्तै त्यो पचाइदिन्छ । ओच्छ्यानमा जान्छ । उसको दुर्गन्धलाई स्वास्नीले धिक्कार्छे । लुरुक्क परेर उता फर्किन्छ अनि भुसुक्क निदाउँछ ।  सरिताले यस्तो निसोक्रा लोग्नेलाई ३५ वर्ष झेलिसकिन् । अब उनी पनि थाकेको झैँ देखिन्छिन् । ‘यस्तो अल्छिको पुरी लोग्ने हुनुभन्दा त एक्लै बस्न जाति ।’ अचेल बेलाबेला यसो भन्छिन् ।

प्रतिक्रिया